सिमरा,मालपोत कार्यालय सिमराले चालु आर्थिक बर्षको ६ महिनामा १० करोड ५७ लाख ७४ हजार ८ सय ७५ रुपैया राजश्व संकलन गरेको छ ।गत आर्थिक बर्षको पुष मसान्तसम्ममा ९ करोड ८० लाख २१ हजार ९ सय ७१ रुपैया सङ्कलन गरेको मालपोत कार्यालयले चालु आथिक बर्ष २०८०-०८१ को पुष मसान्तसम्म रजिस्ट्रेशन दस्तुरतर्फ ६ करोड १० लाख ३४ हजार ८ सय ९० रुपैयाँ संकलन गरेको हो ।
त्यस्तै जग्गा रोक्कातर्फ ८९ लाख ९२ हजार १ सय ३५ रुपैया, पुँजीगत लाभ करतर्फ ३ करोड ५२ लाख १६ हजार १५ रुपैया र सेवा शुल्कतर्फ ६ लाख ३१ हजार ८ सय ३५ रुपैया संकलन गरेको मालपोत कार्यालय सिमराले जनाएको छ ।
गत आर्थिक बर्ष २०७९÷८० मा मालपोत कार्यालय सिमराले २७ करोड ९ लाख ९० हजार ४ सय १७ रुपैया राजश्व संकलन गरेको थियो । मालपोत कार्यालय सिमराका निमित्त प्रमुख पल्लबी कर्णले बैँकहरुले ऋण सहजै लगानी नगरेका कारण जग्गा कारोबारमा कमी आएको बताउनुभएको छ । उहाँले पहिलाको तुलनामा जग्गा कारोबारमा केही सुधार आएको भएपनि पहिला जस्तो सेवाग्राहीहरुको चाप नदेखिएको जानकारी दिनुभयो ।



















