सिमरा,नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने टैंक ट्रकसम्बन्धी समस्या समाधान नगरेको भन्दै आइतवारदेखि तीनवटा संस्थाले संयुक्त रुपमा आन्दोलन गर्ने जनाएका छन ।अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अमलेखगञ्ज र नेपाल पेट्रोलियम ट्याँकर चालक संघ अमलेखगञ्जले आइतबारदेखि संयुक्त रुपमा आन्दोलन गर्ने जनाएको छ । डिपोबाट लोडिङ्ग–अनलोडिङ्ग ठप्प पार्नेसम्मको आन्दोलनको कार्यक्रम उनीहरुले तयार पारेका छन् । पेट्रोलियम ढुवानी व्यवसायी संघका महासचिव राम ठकुरीका अनुसार तीनवटै संस्थाहरुले निजी ढुवानी टैंक– ट्रक व्यवस्थापन गर्नुपर्ने, बरौनी– अमलेखगञ्ज रुटमा गुड्ने १०४ वटा टैंक ट्रक व्यवस्थापन गर्नुपर्ने, एक थान टैंक ट्रक धनी व्यवसायीलाई करार सम्झौता कायम गर्नुपर्ने र ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने लगायतका माग राखेर तीनवटै संस्थाले संयुक्त रुपमा आन्दोलन गर्न लागेको हो ।
तीनवटै संस्थाले पटक पटक नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउदा पनि हालसम्म उक्त समस्याप्रति निगमले चासो नदेखाएकाले आन्दोलनमा जान बाध्य भएको ठकुरीले जानकारी दिनुभयो । अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष सुदामा साहकाअनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोश्रो चरणको परियोजनाअनुसार निकट समयमै पाइपलाइनबाट पेट्रोल पनि ढुवानी हुने भएपछि भारतको बरौनीबाट इन्धन ढुवानी गर्दैआएका ट्याँकर व्यवसायी र चालक रोजगारविहिन हुने समस्या सिर्जना भएको छ ।तीनवटै संस्थाले १०४ वटा ट्याँकरमध्ये ६० वटा ट्याँकरलाई अमलेखगञ्ज–दाङ्ग रुटमा परिचालन गराइदिनुपर्ने माग राखेर लामो समयदेखि निगममा ज्ञापन पत्र बुझाउँदै आएको साहले जानकारी दिनुभयो ।