नरेश गुप्ता

बरियारपुर,बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा चोरिको घटना बढ्दै गएपछि दर्शनार्थीहरु त्रसित बन्न थालेका छन ।
शक्तिपिठ गढीमाई मन्दिरमा जडान गरिएको सिसि क्यामरा, नगर प्रहरी, नेपाल प्रहरी र मन्दिरका पुजारी समेतको प्रत्यक्ष निगरानी भएको स्थानमा भक्तजनहरुको पर्स, मोबाइल, नगद र गरगहनासमेत चोरी हुने क्रम बढेपछि दर्शनार्थीहरुमा त्रास बढेको हो ।
गढीमाई मन्दिर वरिपरि प्रभावकारी शान्ति सुरक्षा नहुँदा चोरीका घटना बढ्ेको स्थानीय सत्यनारायण महतोले बताउनुभयो । बिशेष गरि हरेक शनिबारको दिन मन्दिरमा भक्तजनको भिडभाड हुने गरेको सोही दिन चोरिका घटना पनि बढी हुने गरेको देखिएको उहाँले बताउनुभयो ।
पछिल्लो शनिवार मात्रै पनि मन्दिरमा दर्शनको लागि आएकी एम महिलाको ५० हजार नगद, तीन तोला सुनको गहना र अन्य कागजातसहित पर्स चोरी भएको महतोले जानकारी दिनुभयो । पीडित महिलाले गढीमाई मन्दिरभित्र पुजा गरेर फर्किदा पुजारी बसेको ठाउँमा पर्स छुटेको तर पछि फर्किएर खोजतलास गर्दा फेला नपरेको बताएकी छिन ।
उनले घटनाको बारेमा प्रहरीमा समेत खोजतलासको लागि निवेदन दिएकी छिन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले महिलाको नगद र गहना हराएको भएको घटनामा मन्दिरका पूजारीलाई बोलाएर अनुसन्धान भइरहेको जानकारी दिनु भएको छ ।

















