मधेश प्रदेशका बारा, पर्सा, रौतहट सहितका विभिन्न जिल्लामा सोमबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर चलेपछि जनजीवन प्रभावित भएको छ। बाक्लो हुस्सुका कारण सडकमा दृश्यता कम हुनुका साथै सवारी आवागमन, दैनिक कामकाज तथा सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ।
बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण सडक, खेतबारी तथा आसपासका दृश्य धमिलिएका छन्। विशेषगरी तराई–मधेशका जिल्लामा सडकमा अगाडि रहेका सवारीसाधनसमेत स्पष्ट देख्न कठिन भएको छ। हुस्सुसँगै चलेको चिसो सिरेटोले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत असहज बनाएको छ।
मधेशका विभिन्न जिल्लामा मौसमले पुस–माघ महिनाको झल्को दिएको स्थानीयवासीले बताएका छन्। बिहानको समयमा बाक्लो हुस्सु लाग्दा लामो दूरीका सवारीसाधन, मोटरसाइकल तथा पैदलयात्रु बढी प्रभावित भएका छन्।
हुस्सुका कारण सडकको दृश्यता कम हुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ। सवारी चालकले गति कम गरी सुरक्षित दूरी कायम राखेर सवारी चलाउनुपर्ने अवस्था रहेको छ ।
यद्यपि, पुस–माघ महिनामा हुने शीतलहरको तुलनामा अहिलेको चिसो भने कम महसुस भएको छ।
मौसममा आएको परिवर्तनले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक, किसान, विद्यार्थी तथा बिहानै आवतजावत गर्नुपर्ने सर्वसाधारणको दिनचर्यामा समेत असर पारेको छ। विशेषगरी वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट जोगाउन आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।
हुस्सुका कारण सडकमा दृश्यता कम हुने भएकाले सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।

















