निजगढ,शनिबार र बिदाको दिन सुनसान रहने निजगढ ७ स्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा असोज २० गते शनिवार बिहान १० बजेपछि एकाएक विद्यार्थी र शिक्षकहरुको चहलपहल शुरु भयो ।अन्य दिनमा जस्तै शनिवार पनि विद्यार्थीहरु किताब कापी बोकेर अध्ययन गर्न आएपछि विद्यालयमा चहलपहल देखिएको हो । गत असोज ४ र ५ गते नेपाल शिक्षक महासंघको आव्हानमा देशैभरका शिक्षक काठमाण्डौँ केन्द्रीत आन्दोलनमा गएपछि बन्द भएको पठनपाठनको पुर्ताल गर्न शिक्षकहरुले बिदाको दिनमा पनि पठनपाठन गरेका हुन ।आन्दोलनको विद्यालयमा २ दिन पठनपाठन बन्द हुन पुगेको र अब अर्को एक बिदाको दिनमा पनि पठनपाठन गरेर त्यसको पूर्ति गरिने प्रधानाध्यापक उमेशकुमार स्वर्णकारको भनाई छ । विद्यालयमा विद्यार्थीको समेत सदाझैँ उपस्थिति रहेको विद्यालयले जनाएको छ ।निजगढका अन्य विद्यालयले पनि बिदाको दिनमा पठनपाठन गर्ने योजना बनाएको नेपाल राष्ट्रिय शिक्षक संगठन निजगढका अध्यक्ष हस्तबहादुर लामाले बताउनुभएको छ ।पर्याप्त विद्यार्थी नहुदा कुनैबेला विद्यालय नै अर्कोमा गाभ्नुपर्ने अवस्थामा पुगेको सो विद्यालयमा पछिल्लो समय गुणस्तरीय पठनपाठन हुन थालेपछि विद्यार्थी संख्यामा पनि वृद्धि भएको छ । विद्यालयमा करिब २ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भौतिक अवस्था लगायतको व्यवस्थापन सुधारमा व्यवस्थापन समिति पनि लागिरहेको व्यवस्थापन समिति अध्यक्ष हरीप्रसाद चौलागाईँले बताउनुभएको छ ।