यस वर्षको मनसुन नेपाल भित्रिसकेको भएपनि तराई मधेसमा गर्मी अझै कायम नै छ । अबको चार–पाँच दिनपछि देशैभर मनसुन भित्रिने अनुमान जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।यो वर्ष १२ लाख १२ हजार संरचना क्षति हुने, २ लाख ५९ हजार ९ सय ९८ अति प्रभावित र ९५ हजारलाई उद्धार गर्नुपर्ने अनुमान छ । प्राधिकरणको यो तथ्याङ्कले के देखाउँछ भने, बाढी–पहिरोलगायत प्रकोपबाट जोगिन आजैबाट पहल गर्नुपर्छ । प्राधिकरणले एक साताअघि तयार गरेको प्रतिवेदन अनुसार कोशी, बागमती, सुदूरपश्चिम र मध्यपश्चिमलगायतका क्षेत्रमा बढी क्षति हुने अनुमान छ ।प्राधिकरणले सबै प्रदेश, स्थानीय तहमा कहाँ कति क्षति हुन्छ भन्ने लगायतका विषयमा प्रतिवेदन सार्वजनिक गरिसकेको छ । उक्त प्रतिवेदन अध्ययन गरी आ–आफ्नो प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्नु अति आवश्यक छ ।नेपालमा मनसुन भित्रिनु केही दिनअघि मात्र तयारी थाल्ने प्रवृत्तिले समस्या पर्ने गरेको छ । हुन त मनसुन भित्रिएपछि आकाशे खेतीमा जीवन निर्वाह गरेका नेपाली किसानमा खुशी ल्याएको छ । कृषिमा आधारित नेपालीले रोपाइँ गर्ने तयारी थालेका छन् ।केही दिनअघि उखरमाउलो गर्मीका कारण जनजीवन अतिप्रभवित भएको अवस्थामा मनसुन भित्रिएपछि ठूलो राहत भएको थियो तर फेरि बारा र पर्सा क्षेत्रमा अझै पानी परेको छैन । सर्वसाधारण फेरि पनि पानी नपर्ने त होइन भन्ने चिन्तामा परेका छन ।वर्षा लागेपछि तराई मधेसमा डुबानाको समस्या आउने गर्दछ । त्यसैले अब सरकारहरुले यस क्षेत्रका नागरिकहरुको समस्या पहिचान गरी बेलैमा नीति बनाउन आवश्यक छ ।















