वीरगञ्ज,ठाकुरराम बहुमुखी क्याम्पसमा फेरि विवाद चुलिएको छ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को इकाई समितिलाई पन्छाउँदै विज्ञप्ति बुझाउने विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।संयुक्त विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुख र नेविसङ्घको जिल्ला नेतृत्वमाथि नियम विपरीत गतिविधि गरेको आरोप लगाएको छ । क्याम्पससँग सम्बन्धित कुनै पनि विषयमा विज्ञप्ति दिने अधिकार इकाई समितिको हुने परम्परा छ । तर यो प्रक्रियालाई उपेक्षा गर्दै नेविसङ्घका जिल्ला अध्यक्ष रमेश यादवले विज्ञप्ति बुझाउनुभएको छ ।
संयुक्त विद्यार्थी सङ्गठनका अनुसार यो कार्य क्याम्पस प्रमुख र नेविसङ्घका जिल्ला नेताहरूबीचको मिलेमतोका कारण भएको हो । यस्तो कदमले विद्यार्थीहरूलाई पन्छाउँदै क्याम्पसलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न खोजिएको स्पष्ट हुन्छ अखिल (क्रान्तिकारी) का अध्यक्ष अनीश पटेलले भन्नुभएको छ ।विद्यार्थी सङ्गठनहरूले क्याम्पस प्रमुख रञ्जितप्रसाद यादवमाथि बाहिरी समूहलाई प्रयोग गरी क्याम्पसमा अशान्ति फैलाउने प्रयास गरेको आरोप लगाएका छन् । अखिल नेपाल, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, विद्यार्थी जनमत सङ्घ, समाजवादी विद्यार्थी युनियन नेपाल लगायतका सङ्गठनहरूले क्याम्पस प्रमुख यादवको राजीनामा र कर्मचारी सङ्घले लगाएको ताल्चा तत्काल खोल्न माग गरेका छन् ।