वीरगञ्ज,वीरगञ्जस्थित नारायणी सेन्ट्रल अस्पतालको चिकित्सक टोलीले कलैया निवासी डेढ वर्षीय बालकको मिर्गौलामा पानीको फोको (शिष्ट) जमेर सम्पूर्ण मिर्गौला खराब भएको अवस्थामा सफल शल्यक्रियाबाट नयाँ जीवन दिएको छ ।
वीरगञ्जस्थित नारायणी सेन्ट्रल अस्पतालको चिकित्सक टोलीले अस्पतालमा पहिलो पटक यस्तो शल्यक्रिया गर्दै नयाँ इतिहास रचेको हो ।

बालकलाई लामो समयदेखि ज्वरो आउने, खाना नखाने, र स्वास्थ्य अवस्था बिग्रँदै जाने समस्या देखिएको थियो । प्रारम्भमा वीरगञ्जका केही अस्पतालका चिकित्सकहरूले बालकको मिर्गौला निकाल्नुपर्ने हुनसक्छ भनेर सुझाव दिए । त्यसपछि परिवारले काठमाडौँस्थित कान्ति बाल अस्पताल र टिचिङ अस्पतालमा पनि परामर्श लिएका थिए । दुवै अस्पतालका विशेषज्ञहरूले मिर्गौला फाल्नुपर्ने सुझाव दिएपछि परिवारले बालकलाई वीरगञ्जमै उपचार गराउने निर्णय गरेका थिए ।

वीरगञ्जस्थित नारायणी सेन्ट्रल अस्पतालमा बच्चाको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरी मिर्गौला शल्यक्रिया गर्न तयार गरिएको थियो । अस्पतालका वरिष्ठ चिकित्सक डा. नितेश कर्ण (सर्जन), डा. सञ्जय शाह (सर्जन), र डा. नूर आलम (एनेस्थेसिया) सहितको विशेषज्ञ टोलीले नेफ्रेक्टोमी शल्यक्रिया (मिर्गौलाको फोकासहितको खराब भाग हटाउने प्रक्रिया) सफलतापूर्वक सम्पन्न गरेका हुन ।

शल्यक्रिया सफल भएपछि बालकलाई सकुशल डिस्चार्ज गरिएको छ । बालकका परिवारजनले उपचारमा खटिएका चिकित्सक टोली र अस्पताललाई धन्यवाद व्यक्त गरेका छन् ।अस्पताल प्रशासनका अनुसार नारायणी सेन्ट्रल अस्पतालमा पहिलो पटक यस्तो जटिल शल्यक्रिया सफल भएको हो । यसले वीरगञ्ज र आसपासका क्षेत्रमा जटिल शल्यक्रिया गर्नका लागि पनि यो अस्पताल सक्षम रहेको प्रमाणित गरेको छ । ‘यो सफलता हाम्रो अस्पतालका चिकित्सक टोलीको अद्वितीय क्षमताको प्रमाण हो । भविष्यमा पनि यस्ता चुनौतीपूर्ण केसलाई सफलताका साथ निरुपरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’ अस्पताल प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Leave a Reply