वीरगन्ज,वीरगन्ज–पथलैया व्यापारिक मार्गको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पुनः समय थप गर्ने तयारी गरिएको छ । सडकको भौतिक प्रगति हालसम्म ७८ प्रतिशत मात्रै छ ।
कोरोना महामारीले तथा निषेधाज्ञाले गर्दा जनशक्ति, साधन–स्रोतको अभाव रहेको सडक निर्माणमा विलम्ब भएको निर्माण कम्पनीको भनाइ छ । निर्माण सम्पन्न गर्नुपर्ने म्याद पटक–पटक थपिए पनि पछिल्लोपटक थपेको म्याद सकिन लागेपछि फेरि छ महीना म्याद थप्ने तयारी भइरहेको व्यापारिक मार्ग विस्तार योजना, वीरगन्ज–पथलैया सडक परियोजना कार्यालय पथलैयाका सूचना अधिकारी सम्पतलाल दासले बताउनुभयो ।
२०७३ असार २९ गतेदेखि शुरु भएको यो मार्गको निर्माण काम २०७८ असार मसान्तसम्म ७८ प्रतिशत मात्र सम्पन्न भएको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भएको थियो । पथलैयादेखि सुक्खा बन्दरगाह, वीरगन्जसम्म ३१ किलोमिटर सडक कालोपत्र गर्नु पर्नेमा ७८ प्रतिशत मात्र काम सकिएको हो । सडक निर्माणका लागि सातवटा खण्डमा विभाजित गरी निर्माण कम्पनीले ठेक्का सकार गरेका छन् । जसमा परवानीपुरदेखि गण्डक नहरसम्म ३ दशमलभ ९२ किलोमिटर ६० प्रतिशत काम भएको छ । गण्डक नहरदेखि हरपतगन्ज सुक्खा बन्दरगाहसम्म ३ दशमलभ ५० किमीमा ८३ प्रतिशत र हरपतगन्ज चोकदेखि सुक्खा बन्दरगाहसम्म ३ दशमलभ ५० किलोमिटरमा ५६ प्रतिशत मात्रै काम भएको छ । यसैगरी पथलैया चोकदेखि सूर्य नेपाल सिमरासम्म ४ दशमलभ ५६ किलोमिटरमा ९४ प्रतिशत काम भएको छ भने सूर्य नेपाल सिमरादेखि सैनिक क्याम्प जीतपुरसम्म ५ दशमलभ ८० किलोमिटरमा ५१ प्रतिशत मात्रै काम भएको छ । सैनिक क्याम्प जीतपुरदेखि परवानीपुरसम्म ५ दशमलभ १६ किलोमिटर ८० प्रतिशत, परवानीपुरदेखि गण्डक चोक ४ दशमलभ २४ किलोमिटरमा ८६ प्रतिशत काम सम्पन्न भएको सडक परियोजनाको कार्यालयले जनाएको छ ।
निर्माणाधीन वीरगन्ज–पथलैया ६ लेन सडक अन्तर्गत पर्ने पुलहरूमध्ये जीतपुरस्थित लालका पुलको काम ८८ प्रतिशत सकिएको छ । त्यसैगरी परवानीपुरस्थित श्रीसिया पुलको ८४ प्रतिशत, परवानीपुर–सुक्खा बन्दरगाह मार्गमा पर्ने श्रीसिया खोला पुलको ८२ प्रतिशत निर्माण काम पूरा भएको सूचना अधिकारी दासले बताउनुभयो । सो सडकखण्डको काम असार मसान्तमा सिध्याउनका लागि ६ महिना अगाडि नै अन्तिम पटकका लागि भन्दै म्याद थप गरिएपनि पुनः फेरि ६ महिना म्याद थपको तयारी गरिएको हो ।