सिमरा,गोरखा जिल्लामा क्रेन दुर्घटना हुँदा बाराका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १९ का १९ वर्षीय प्रिन्स अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभएको छ ।
शर्माका अनुसार आइतवार साँझ ८ बजे गोरखा नगरपालिका– १० हुल्चेमा निर्माणाधीन अविनाश अर्बाएकर प्रालि ह्याचरीमा काम गरिरहेका बेला नम्बर नखुलेको क्रेन एक्कासि ब्रेक फेल भई काम गरिरहेको स्थानबाट २० मिटर तल खोलामा खसेको थियो । सोही क्रममा प्रालिमा काम गर्ने अन्सारीको क्रेनले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्सारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गोरखाको शवगृहमा राखिएको छ । क्रेनका चालक भने पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३० का २४ वर्षीय अजहर अन्सारी रहेका छन् । चालकलाई नियन्त्रणमा लिएर उक्त घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



















