कलैया,बाराको पचरौता नगरपालिका– ४ बेल्दारीमा सर्पदंशबाट १९ महिनाका एक बालकको मृत्यु भएको छ ।खेतमा काम गर्नेक्रममा आमा सोनापती देवी रामले छोरा धनजयलाई पनि आफूसंगै खेतमा लगेकी थिइन । राम स्थानीय रविन्द्र यादवको मकै खेतमा ज्यालादारी काम गर्न गएकी थिइन् । खेतमा खेलिरहेको बेला सर्पले बालकको खुट्टामा डसेको थियो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बेल्दारीबाट प्रहरी सहायक निरीक्षक सुनिल यादवको नेतृत्वमा टोली खटिएको थियो ।बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार सर्पदंशपछि गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक बालकको शव उनका हजुरबुवा रामरेख रामले बुझेर लगेको घलेले जानकारी दिनुभयो ।प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा बारासहित देशका विभिन्न जिल्लामा सर्पदंशका घटनामा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।



















