काठमाण्डौं,रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ ।यसअघि रुसले पीडित परिवारलाई क्षतिपुर्ति दिने, तर उनका परिवार नै रुस जानुपर्ने भनेको थियो । त्यसबारे नेपाल सरकारले मस्कोस्थित दूतावासमार्फत् नेपालकै सरकारी संयन्त्रमार्फत् क्षतिपूर्ति उपलब्ध गराउन राखेको प्रस्तावमा रुसले सहमति जनाएको हो ।रुसी युद्धमा परी कम्तिमा पनि १२ नेपालीको ज्यान गइसकेको छ भने कति घाइते छन्, कति भर्ती भएका छन् तथा कति मारिएका छन् भन्ने बारेमा रुस सरकारले नेपाललाई कुनै पनि जानकारी दिएको छैन । मस्कोमा रहेको नेपाली दूतावासलाई पनि सार्वजनिक रुपमा आएका सूचना र तथ्यांकबाहेक केही सूचना उपलब्ध छैन ।



















