निजगढ,५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा निजगढ नगर कार्यपालिकाको कार्यालयले बुधवार निजगढमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ ।

प्रभातफेरी कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार धिताल, कार्यालयका कर्मचारी, स्थानीय विद्यालयका छात्रछात्रा, सुरक्षाकर्मी, पत्रकार, सामुदायिक एवं संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका र विभिन्न संघ संस्थाका प्रतिनिधिसहित सयौंको सहभागिता रहेको थियो ।

नगर कार्यपालिकाको कार्यालयबाट सुरु भएको प्रभातफेरि कार्यक्रम लिची टोलबाट पूर्वपश्चिम राजमार्गको सहिद चोक हुँदै बुद्ध चोकमा पुगेर पुनः नगर कार्यपालिकाको कार्यालयमा आएर समापन गरिएको थियो । कार्यक्रमको समापनमा निजगढ नगरपालिकाका नगर प्रमुख पुरीले दिवसको अवसरमा बालबालिकाहरुमा शुभकामना व्यक्त गर्दै बाल अधिकारको संरक्षण एवं प्रबर्द्धनको लागि क्रियाशील सबैमा धन्यवाद व्यक्त गर्नुभयो । नगर प्रमुख पुरीले बालबालिकाको हक र अधिकारको सुनिश्चितता गरी बालमैत्री नगर एवं समाज निर्माणका लागि निजगढ नगरपालिका सक्रिय रहेको भन्दै नगरपालिकाको अभियानलाई सफल पार्न सहयोगको लागि सबै सरोकारवालाहरुमा अनुरोधसमेत गर्नुभएको छ ।

‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवसमा प्रभात फेरिको आयोजना गरिएको थियो ।

Leave a Reply