वीरगञ्ज,वीरगञ्जको नारायणी अस्पतालमा सुत्केरी महिलाले अब रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगत पाउने भएका छन् ।
नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाबीच सोमवार सुत्केरी महिलाहरूका लागि निशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो । अस्पतालमा उपचारका लागि आउने सुत्केरी महिलालाई आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने छ । त्यसबापतको लाग्ने शुल्क अस्पतालले नै केन्द्रलाई बुझाउने सम्झौता भएको छ ।
रक्त सञ्चार केन्द्रले बिरामीको उपचारमा आवश्यक पर्ने रगतको ब्याग, क्रस म्याच, ग्रुपिङ्ग एंव परीक्षणबापत प्रतियुनिट रगतको १ हजार ५० रुपैयाँ शुल्क लिने गरेको छ । उक्त शुल्क अब नारायणी अस्पतालले रक्त सञ्चार केन्द्रलाई तिर्ने गरी सोमवार अस्पताल प्रशासन र रेडक्रस सोसाइटी पर्सा शाखाबीच सम्झौता भएको हो ।
रेडक्रस पर्सा शाखाका सभापती वीरेन्द्रराज कँडेल र नारायणी अस्पतालका प्रमुख मेसु डा. चुमनलाल दासले हस्ताक्षर गरेको सम्झौतापत्रमा नाारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने, रक्त सञ्चार केन्द्रबाट सुत्केरी महिलालाई उपलब्ध गराउने रगतको शुल्कको विवरण रक्त सञ्चार केन्द्रले हरेक महिनाको ५ गते अस्पताललाई बुझाउने र सोही महिनाभित्रमा उक्त रकम उपलब्ध गराउने उल्लेख छ ।सम्झौतापत्र आदान प्रदान कार्यक्रममा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ता, रेडक्रस साोसाइटी पर्साकी उपसभापती मधु राणा, मन्त्री शैलेन्द्र चौरसिया, रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।


















