वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा, डुबान समस्या समाधानको लागि पुग्नुभएका महानगर प्रमुख राजेशमान सिंहमाथि हातपातको प्रयास भएको छ। केही दिनअघिको अविरल वर्षाका कारण डुबानमा परेको अलौमा नगरप्रमुख सिंह सोमवार स्थलगत निरीक्षणमा पुग्नुभएको थियो ।
डुबानको समस्या समाधान गर्न पानीको बहाबलाई अर्कोतर्फ पठाउने उद्देश्यले बाँध फोडिएपछि स्थानीय किसानको धानबालीमा क्षति भएको थियो । वडा नम्बर १७ का वडा अध्यक्ष सञ्जिबबहादुर क्षेत्रीका अनुसार बाँध फोडिएपछि अर्को क्षेत्रमा रहेको खेतमा पानी पुगेको र यसले गर्दा एकातर्फ बाली नष्ट भएको र अर्कोतर्फ डुबानका कारण जनजीवन प्रभावित भएकोभन्दै सो क्षेत्रमा स्थानीयबीच तनाव सृजना हुँदैआएको थियो ।
महानगर प्रमुख सिंहले वडाअध्यक्षहरूलाई जिम्मा दिँदै समस्या समाधानको पहल गर्न आग्रह गर्नुभएको र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा पानीको बहाबलाई अर्कोतर्फ फर्काएपछि पनि सो पानी पुनः घरखेतमा पसेको गुनासो स्थानीयले गुनासो गरेका थिए । वडाअध्यक्ष क्षेत्रीले बहाबलाई पहिलेकै स्थानमा फर्काउन लगाउनुभएको थियो । जसले गर्दा बस्तिमा पुनः डुबानको समस्या उत्पन्न भएकोभन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका थिए ।
समस्याको समाधान खोज्न र स्थानीयसँग छलफल गर्न महानगर प्रमुख सिंह घटनास्थल पुग्नुभएको हो । तर विवाद उत्पन्न हुँदै गर्दा सुदर्शन लामिछानेले नगर प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार लामिछानेले अपशब्द प्रयोग गर्दै महानगर प्रमुखसँग दुव्र्यवहारसमेत गरेका थिए। नगर प्रमुख सिंहले अवस्थालाई साम्य पार्न प्रयास गर्दा, लामिछानेले नगर प्रमुख सिंहमाथि हातपात प्रयास गरेका थिए।
वडा सदस्य अमोद यादवले महानगर प्रमुखलाई वडा अध्यक्ष क्षेत्रीले दुई दिनअघि डुवानको घटना बारे जानकारी गराउँदै निवेदन दिएको भए पनि समयमै नआएकाले समस्या बल्झिदै गएको बताउनुभएको छ ।सुदर्शन लामिछाने नेपाली कांग्रेसका बुथ समितिका सभापतीको छोरो भएको बताइएको छ ।


















