वीरगन्ज,पर्साको सखुवाप्रसौनी गाउँपालिकाले पहिलो पटक पालिकाभित्रका सबै बिरामीका लागि निःशुल्क रूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ ।
पालिका अन्तर्गतका व्यक्ति बिरामी परेर उपचारका लागि पर्सा जिल्लाको कुनै पनि अस्पतालमा जानु परे एम्बुलेन्सले निःशुल्क सेवा प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले बताउनुभयो ।
हाल पालिकामा दुई वटा निःशुल्क एम्बुलेन्स उपलब्ध छ । मधुवन मथलव स्वास्थ्य चौकी र महुवन स्वास्थ्य चौकीमा रहेका दुई वटा एम्बुलेन्सले पालिकाका सेवाग्राहीका लागि निःशुल्क सेवा उपलब्ध गराउन थालिएको गाउँपालिलाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले जनानकारी दिनुभयो ।
सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले उपचारका लागि पर्सा जिल्लाभन्दा बाहिरी जिल्लाको अस्पताल वा स्वास्थ्य संस्थामा जानु परेमा भने इन्धन खर्च मात्रै सेवाग्राहीले व्यहोर्नु पर्ने अध्यक्ष यादवले बताउनुभयो ।