पुष्पराज खतिवडा
मनहर्वा,बारालगायत मधेस प्रदेशका जिल्लाहरूमा सवारी दुर्घटनामा वृृद्धि भएको छ । पछिल्लो पटक मंगलवार दिउसो पथलैया–हेटौडा सडकखण्ड अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुल बजार नजिकै यात्रु बस दुर्घटना हुँदा ३० यात्रु घाईते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २२ जनाको उपचार भईरहेको छ । उपचार गराईरहेका मध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुको हेटौंडास्थित चुरे हिल अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार हेटौंडामा १८ जना र अमलेखगञ्जमा चार यात्रु उपचाररत छन् । अन्य सामान्य घाइते भएका आठ यात्रु भने उपचारपछि घर फर्किएका छन् ।हेटौडाबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको यात्रु बस अनियन्त्रित भएर तीन नम्बर पुलको बजार छेउको खोलामा खसेको हो । घटनालगत्तै स्थानीय र अन्य सवारी साधनका यात्रुले घाइतेको उद्धार गरेका थिए ।
३ वर्षमा १५ हजार सवारी दुर्घटना
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराको पछिल्लो तीन वर्षको तथ्यांकले सवारी दुर्घटनाको अवस्था डरलाग्दो देखाएको छ ।आर्थिक बर्ष ०७८–७९ मा मधेश प्रदेशका आठ जिल्लामा पाँच हजार ७११ सवारी दुर्घटना हुँदा ५८५ जनाको मृत्यु भएको छ । आव ०७९–८० मा ५ हजार ९ सय ८८ सवारी दुर्घटनामा परी ५ सय ४६ जनाले ज्यान गुमाउँदा चालु आव ०८०–८१ को माघसम्म तीन हजार ६१२ सवारी दुर्घटनामा २९० जनाले ज्यान गुमाएका छन यो अवधिमा मधेश प्रदेशमा मात्रै १५ हजार ३११ सवारी दुर्घटना हुँदा एक हजार ४२१ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना धनुषामा भएको छ । प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा यहाँ २३३ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा चार हजार एक सय ६४ जना घाइते भएका छन् ।
सो अवधिमा बारामा २३३ जनाको मृत्यु हुँदा तीन हजार पाँच सय ४८ जना गम्भीर घाइते भएका छन् । सर्लाहीमा १८३, सप्तरीमा १७८, सिराहामा १७१, महोत्तरीमा १६०, रौतहटमा १५२ र पर्सामा १११ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन ्।
दुर्घटनाको मुख्य कारण क्षमताभन्दा बढी यात्रु बोक्नु, मादकपदार्थ सेवन तथा तीव्र गति र चालकको लापरवाही रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले जनाएको छ । जनचेतना भए पनि कानुन कार्यान्वयन फितलो हुँदा मनपरी गर्ने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाको संख्यामा बृद्धि भएको ट्राफिक प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।सवारी दुर्घटनाको संख्यामा वृद्धि भएपछि ट्राफिक कार्यालय पथलैयाले दुर्घटना न्यूनीकरण गर्न आफ्नो मातहतको आठवटै जिल्लामा चेकजाँचलाई निरन्तरता दिन निर्देशन दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो ।
सडक दुर्घटना न्यूनीकरणका लागि सिसिटिभीसँगै जडान गरिएको राडर गनको प्रयोगबाट ट्राफिक प्रहरीले यातायातका साधनको गति मापनसमेत गर्ने गरेको छ । यसको प्रयोगले दुर्घटना न्यूनीकरणमा प्रभावकारी हुने ट्राफिक प्रहरी कार्यालय पथलैयाको दाबी छ । तर, गत जेठबाट मधेस प्रदेश सरकारले मधेस प्रदेशको पाँचमध्ये पथलैया र अन्य स्थानमा जडान गरीदिएको सिसिटिभी र राडर गन भने बिग्रिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र मातहतका कार्यालयहरु दुर्घटना न्यूनीकरणभन्दा राजस्व संकलनमा बढी केन्द्रित हुन थालेको देखिएको छ ।राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई गत आर्थिक वर्षभन्दा पाँच प्रतिशत वढी राजस्व संकलन गर्न लक्ष्य दिइएको छ । जसका कारणसमेत ट्राफिक प्रहरी राजस्व संकलनमा केन्द्रित भएका हुन् । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा कार्य र ध्यान दिनुपर्ने कार्यालयलाई राजस्वको लक्ष्य दिँदा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा भन्दा राजस्व संकलनमा बढी केन्द्रित हुनपुगेको हो ।सडकमा खटिएका ट्राफिक प्रहरीलाई चेकिङका नाममा कार्यालयले दिएको लक्ष्यअनुसारको रकम उठाउन हम्मे–हम्मे पर्ने गरेको प्रहरीको भनाई छ ।चालू आवमा मधेस प्रदेशका ट्राफिकलाई २८ करोड २१ लाख २० हजार ८ सय २५ रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयनमा जोड दिनुपर्ने भए पनि नियम उल्लंघनका नाममा प्रहरी चिट काट्न व्यस्त रहेको प्रहरी अधिकारी नै स्वीकार गरेका छन ।
















