पुष्पराज खतिवडा
मनहर्वा,जिल्ला सदरमुकाम कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसमा चिट चोर्न नदिएको भन्दै परीक्षा हलभित्र विद्यार्थीहरुले होहल्ला गर्दै क्याम्पसमासमेत तोडफोड गरेका छन् । वीरगन्ज कमर्स क्याम्पस वीरगन्जमा अध्ययनरत स्थानीय विद्यार्थीहरुको परीक्षाका निरीक्षकले चिट खोसेको बहानामा क्याम्पसमा तोडफोड गरेर आक्रोश पोखेको प्रहरीले जनाएको छ ।
आक्रोशित परीक्षार्थीहरुले क्याम्पसको शौचालय, खानेपानी टंकी लगायत भौतिक सामाग्री तोडफोड गरी नष्ट गरेका छन् । उनीहरुले परीक्षामा खटिएका निरीक्षकको सावारी साधनमासमेत तोडफोड गरेर क्षेति पु¥याएको बारा प्रहरीले जनाएको छ ।
बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार आइबार बिहान संचालन भएको स्नातक पहिलो वर्षको अर्थशास्त्र विषयको परीक्षामा सहभागी विद्यार्थीहरुले चिट चोर्न नपाएको भन्दै आक्रोश पोखेको हुन् । विद्यार्थीले गरेको तोडफोडबाट क्याम्पसको भौतिक सम्पतिमा क्षति पुगेको छ । क्षतिको वास्तविक विवरण नआइसको डिएसपी थापाले जानकारी दिनुभयो ।
परीक्षामा कडाइ गरिएको, चिट चोर्न नदिएको र चिट खोसेको भन्दै विद्यार्थीहरुले परीक्षा सकिएलगतै बबाल सुरु गरेको राजाराम बहुमुखी क्याम्पसका लेखापाल हरेराम चौधरीले बताउनुभयो ।
बिपिसी क्याम्पस वीरगन्जका ३५÷४० जना विद्यार्थीको झुण्डले परीक्षामा खटिएका निरीक्षकहरुलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयास समेत गरेका थिए । हातपातको प्रयास सफल नभएपछि उनीहरुले क्याम्पस परिशरको बगैचाका फलफूलका विरुवा उखेलेर नष्ट गर्नुका साथै सवारी साधन र अन्य सामग्री तोडफोड गरेको उहाँले बताउनुभयो ।
घटनापछि परीक्षार्थी र शिक्षकहरुमासमेत भय उत्पन्न गरेको छ । घटनामा संलग्नहरुको पहिचान गरेर कानुनी उपचार गर्ने वातावरण नभए सोमवारबाट नियमित रुपमा परीक्षा संचालन गर्न कठिनाइ हुने चौधरीले बताउनुभयो । ‘विद्यार्थीहरुले उदण्ड व्यवहार प्रदर्शन गरेका छन, चौधरीले भन्नुभयो, डर त्रासबीच परीक्षा संचालन गर्न सकिन्न होला ।’
परीक्षार्थीहरुले भने चिट खोस्ने बहानामा विद्यार्थीमाथि शिक्षकहरुले हातपात समेत गरेपछि आक्रोश पोख्नु परेको परीक्षार्थीहरुले बताएका छन् ।
घटनापछि बसेको दुबै क्याम्पसका प्रमुखहरुको बैठकले घटनाको निन्दा गर्दै संलग्नको पहिचान गरेर कारबाही गर्ने र सोमवारबाट परीक्षालाई मर्यादित अनुशासित रुपमा संचालन गर्ने सहमति भएको बताइएको छ ।