सिमरा,त्रिभुवन राजपथ अन्तर्गत हेटौडा–अमलेखगञ्ज सडकखण्डमा शुक्रवार अपरान्ह ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।हेटौडाबाट सिमेन्ट लिएर चन्द्रनिगाहपुर जाँदै गरेको ना ६ ख २३११ नम्बरको ट्रक अमलेखगञ्जबाट उत्तरतर्फ पर्ने गुण्डु पुल नजिक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा ट्रकका चालक चन्द्रपुर नगरपालिका ४ चिडियादहका ३१ वर्षीय चन्द्रकान्त बैठा रहेको प्रहरीले जनाएको छ । राजमार्गबाट तल खसेर पल्टिएको ट्रकलाई क्रेनको सहयोगमा उठाइएको थियो । सिमेन्ट बोकेको ट्रक अगाडि गुडिरहेको ना १ ज २८८५ नम्बरको सुमोलाई ठक्कर दिएपछि अनियन्त्रित भएर पल्टिएको हो । ट्रकको ठक्करबाट सुमोमा सामान्य क्षति पुगेको छ ।सुमोलाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा राखेको छ ।

















