पुष्पराज खतिवडा
बारा,संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद भन्ने मुल नाराकासाथ जनता समाजवादी पार्टी नेपाल (जसपा) एकताको पहिलो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा जारी छ । गत २८ गतेदेखि जारी महाधीवेशनबाट पार्टीले नयाँ नेतृत्व छनौट गर्नेछ ।त्यसका लागि नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गरी महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य शुरु गरेका छन । उम्मेदवारहरुले प्रतिनिधिहरुसंग प्रत्यक्ष भेटेर, फोन र सामाजिक संजालमार्फत मत मागिरहेका हुन ।
पार्टीको केन्द्रिय कमिटी सदस्यको लागि बारा जिल्ला कर्मथलो रहेका धेरै नेता कार्यकर्ताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गरी मत मागिरहेका छन् । यसैक्रममा तत्कालिन फोरम नेपालका जिल्ला अध्यक्ष, जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशका निवर्तमान अध्यक्ष एवंम बारा क्षेत्र नम्बर ३ का पूर्वसंघीय सांसद रामबाबु कुमार यादवले केन्द्रिय सचिवका लागि उमेदवारी दर्ता गर्नुभएको छ । यादवले केन्द्रीय सचिव पदमा काम गर्ने मौका दिए लगनशील भई सक्रियताका साथ काम गरी पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता गर्नुभएको छ ।

यादवले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको छ– “मलाई जसपा, नेपालको केन्द्रिय सचिव पदमा मतदान गरी पार्टीमा काम गर्ने मौका दिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ यादवले पार्टीमा आफू लगनशीलता र सक्रितापूर्वक काम गरी पार्टीलाई एकताबद्ध र सुदृढ गर्दै लाने प्रतिबद्ध पनि जाहेर गर्नु भएको छ ।

२०१ जना रहने केन्द्रिय कमिटी सदस्यको लागि बाराबाट ६ जनाले पदाधिकारी र १२ जनाले केन्द्रिय सदस्यमा गरी १८ जनाको उम्मेदवारी परेको छ । जसअनुसार कन्द्रिय कमिटीको उपाध्यक्षमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव र प्रदेशसभा सदस्य बच्चा राउत अहिरको उमेदवारी दर्ता भएको छ भने उपमहासचिवमा बाराका रामकिशोर यादव, रामबाबु यादव र केन्द्रिय सचिव (खुल्ला) तर्फ रामबाबु कुमार यादव र सचिव मधेसी महिलाबाट पूर्वमन्त्री उषाकुमारी यादवको उम्मेदवारी परेको महाधिवेशन स्थलमा रहेका पार्टी निकट युवा संघका अध्यक्ष सुजित पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी बाराका जसपा युवा संगठनका जिल्ला अध्यक्ष पाण्डेयले आफूले पनि पार्टीलाई बलियो र जनआधारित बनाउनका निम्ति समयअनुसारको सहभागिता भन्दै खस आर्य कलस्टरबाट केन्द्रिय सदस्यका लागि उम्मेदारी दर्ता गराएको जानकारी दिनुुभयो ।मतदान बुधवार मध्यान्नबाट गरिने भनिए पनि साँझ अबेरसम्म पनि शुरु हुन सकेको छैन । केन्द्रीय समितिका उम्मेदवार पाण्डेयले रातीबाट मतदान शुरु गर्ने गरी आवश्यक तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

उपेन्द्र यादव अध्यक्षमा निर्विरोध निर्वाचित
जनकपुरधाम,जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
धनुषाको जनकपुरधाममा भइरहेको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि यादवको मात्रै उम्मेदवारी परेको हो । यादवले पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आउनुभएको छ । बाँकी पदाधिकारी र सदस्यहरूमा बढी उम्मेदवारी परेकाले चुनावको प्रक्रिया चलिरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन् । त्यसमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक जना चयन हुनेछन् ।

Leave a Reply