लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा एमालेको बहुमत आउन सक्ने जिकिर गर्नुभएको छ । एमाले प्रचार विभाग लमजुङ र प्रेस चौतारी लमजुङले आइतवार बेसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता गुरुङले यस्तो बताउनुभएको हो ।

गएको पालिका चुनावमा ३४ प्रतिशत मतसहित एमाले पहिलो लोकप्रिय पार्टी रहेको र त्यसमा ६ प्रतिशतमात्रै मत थप्न सके पनि चुनावमा एमालेको एकल बहुमत आउन सक्ने उपमहासचिव गुरुङले उल्लेख गर्नुभयो । ‘निर्वाचनविद्हरूले हामीलाई दिनुभएको तथ्याङ्कका आधारमा हामी एक पार्टी सदस्य र नयाँ दुई मतदाता तयार गर्ने अभियानमा छौँ’, उहाँले भन्नुभयो ।

एमालेमा अहिले आठ लाख ५५ हजार पार्टी सदस्य रहेको बताउँदै नेता गुरुङले आठ लाख सदस्यमात्रै नयाँ दुई मतदाता तयार गर्ने अभियानमा लागेमा १६ लाख मतदाता थपिने बताउनुभयो । ‘५६ लाख मतको अनुमान हामीले गरेका छौँ । त्यो रणनीति बनाएर हामी अघि बढेका छौँ । ५६ लाख मत आएमा एमालेको बहुमत आउँछ’, उहाँले भन्नुभयो ।
नेकपा एमालेको एकल सरकार भएमा मात्रै देशमा विकास, सुशासन र समृद्धिको अभियान अघि बढ्ने, गरिबी निवारण हुने उहाँको दाबी छ ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका गुरुङले अधुरा रहेका काम पूरा गर्न पनि पुनः एक पटक मुख्यमन्त्री बन्नका लागि सङ्घ छाडेर प्रदेश रोजेको बताउनुभयो । ‘अहिले मैले योगदान दिनसक्ने ठाउँ एक पटकलाई मुख्यमन्त्री नै हो भन्ने महसुस गरेको र गण्डकी प्रदेशमा मुख्यमन्त्री बन्ने परिस्थिति, सम्भावना पनि भएकाले म यहाँ आएको हुँ’, उहाँले भन्नुभयो ।

गुरुङलाई प्रदेश सभा सदस्य उम्मेदवारको रूपमा नेकपा एमालेले लमजुङको प्रदेश सभा (ख) बाट नाम सिफारिस गरेको छ ।

Leave a Reply