कृपा संवाददाता
निजगढ, २४ कार्तिक । निजगढ नगरपालिका ७ स्थित चौतारा युवाक्लवले स्थानीय एक असहाय वृद्धको लागि बस्ने घर बनाई दिने भएको छ । यस बर्षको तिहारमा देउसी भैलो खेलेर संकलक भएको रकमबाट स्थानीय ८२ वर्षिय दुर्गाबहादुर रानामगरलाई घर बनाई दिने भएको हो ।
हाल बस्दै आएको रानामगरको काठेघर जीर्ण भई भत्किन लागेपछि करिव डेढ लाखको लागतमा दुई कोठे ब्लक र जस्तापाताले छाएर घर बनाई दिने तयारी गरिएको क्लवका अध्यक्ष दिलबहादुर पुलामीले बताउनुभयो । क्लवको पहलमा ६ महिना अघि जिल्ला प्रशासन कार्यालय बारामार्फत रानामागरको नागरिकता पनि बनाइएको अध्यक्ष पुलामीले जानकारी दिनुभयो ।