वीरगञ्ज,पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन सा तेलीले छोराको विवाहका लागि सरकारी सवारीसाधनको दुरुपयोग गरेको खुलासा भएको छ । विवाहका सामान किन्न भारतको रक्सौल गएका नगर प्रमुख तेली ना १ झ–१६६१ नम्बरको सरकारी गाडी प्रयोग गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना सार्वजनिक भएको हो ।

भिडियोमा नगर प्रमुख तेली व्यक्तिगत प्रयोजनका लागि नगरपालिका कार्यालयको गाडीमा भारततर्फ किनमेलमा संलग्न देखिन्छन् । स्थानीय स्रोतका अनुसार गाडीमा इन्धन पालिकाकै बजेटबाट भरिएको र त्यसको बिल पास समेत हालै गरिएको छ । नेपालको सार्वजनिक सेवा संहिता अनुसार सरकारी साधनको निजी प्रयोजनमा प्रयोग गर्नु अख्तियारको दुरुपयोग मानिन्छ ।
यस घटनाले नगर प्रमुख तेलीले सरकारी गाडीको प्रयोग गरेर भन्सार छलीका सामान भित्राउने गरेको पाइएको र बहुदरमाई नगरपालिकाभित्रको सुशासन, जवाफदेहिता र पारदर्शितामा गम्भीर प्रश्न उठाएको छ ।घटनापछि केही जनप्रतिनिधि र स्थानीयवासीहरूले आन्तरिक असन्तुष्टि व्यक्त गर्दै, छानबिनको माग गरेका छन् । सामाजिक अभियन्ताहरूले सम्बन्धित निकाय—जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्थानीय सरकारको मौनतालाई खेदजनकभन्दै सार्वजनिक रूपमा कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका हुन ।


















