कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ सालको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
वडा नम्बर ३ को वडा कार्यालयमा आयोजित कार्यक्रममा पालिकाको निति तथा कार्यक्रम सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष रेखा चौधरीले प्रस्तुत गर्नुभएको थियो ।
आगामी आवको नीति अन्तर्गत जिराभवानी गाउँपालिकाले शिक्षा, कृषि, स्वास्थ्यलाई मूख्य प्राथमिकतामा राखेको छ । गुणस्तर शिक्षाका लागि कतिपय नयाँ कार्यक्रम थप गरिने योजना रहेको छ । पालिकामा विद्यालय बाहिर रहेका हरेक, जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुँच गराउने नीति ल्याएको छ ।
विद्यालयमा रहेका विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी गुणस्तर शिक्षा प्रदान गरिने नीति पनि राखिएको छ ।यसका साथै उपाध्यक्ष चौधरीले अगामी वर्षमा किसानहरुलाई विभिन्न किसिमको खेती गर्न सहज हुने गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
दिनहुँ बढिरहेको खडेरीका अवस्थामा सिँचाईका लागि दमकल प्रयोग गर्दा निकै खर्चिलो हुने भएकाले गाउँपालिकाले अगामी वर्षमा बिद्युतीय सिँचाईका कार्यक्रम सम्पन्न गर्ने योजना पनि बनाएको छ । यसको साथै सिँचाईको स्रोत अन्तर्गतका नदी, खोलामा ससाना सिँचाईका आयोजना संचालनमा ल्याउने जनाइएको छ । साथै विभिन्न कारणले सुक्दै गएका पानीको मुहानको संरक्षण तथा संबद्र्धन गरिने नीति राखिएको छ ।
यसका साथै उन्नत पशुपालन, पशु बीमा, बाली बीमा, गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गरिने उपाध्यक्ष चौधरीले बताउनुभयो । पालिकाका पाँचै वडाहरुमा नयाँ कृषि सडक निर्माण गरिने नीति पनि समावेश छ ।
सस्तो दरमा एम्बुलेंस सेवा उपलब्ध गराउने तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने योजना रहेका छन। गाउँपालिकाबासीहरुलाई ब्लड बैकबाट निःशुल्क रगत उपलब्ध गराउने सेवालाई निरन्तरता दिने अगामी नीति रहेको छ ।
साथै पर्यटन भित्र्याउन संभावित स्थान जिराभवानी मन्दिर, लाटोमाई, सुगिभार मन्दिर परिसरलाई विकास गर्ने नीति रहेको छ । साथै संभावित स्थानको मूल्याकंन गरी भ्यू टावरको निर्माण समेत गरिने नीति छ ।यसका अलावा पालिकाभित्र रहेका मुख्य सडकलाई तीस फिट चौडा बनाईने, सडकको दाँया बाँया रहेको एलानी जग्गामा बृक्षारोपण गरिने जनाइएको छ । वातावरण अनुकलताका कारण हुने शितलहर, आगलागी, बाढी, अत्यधिक गर्मी लगायतका जोखिमबाट जोगिन पूर्वतैयारीका कार्यक्रम ल्याइने योजना रहेको छ ।अगामी आर्थिक वर्षका लागि अनुमानित ४५ करोड ८० लाख रुपैयाको बजेट बिनियोजन गरिएको जनाइएको छ । कार्यक्रममा जनप्रतिनिधिहरु प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरी, शिक्षा अधिकृत, स्वास्थ्य शाखा प्रमुख, लेखा प्रमुख तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।



















