वीरगञ्ज – पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई राजनीतिक प्रतिशोधका कारण भ्रम, आरोप तथा प्रचारबाजीमार्फत फसाउने र चरित्रहत्या गर्ने प्रयास भइरहेको गोपाल सेवा समिति पर्साले आरोप लगाएको छ ।
समितिका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष यादवलाई वीरगञ्जस्थित सोल्टी वेस्टेन्ड रिसोर्टको बाथरुम परिसरमा बोलाई योजनाबद्ध रूपमा फसाउने प्रयास भएको आशङ्का व्यक्त गरिएको छ । उक्त घटनालाई आधार बनाएर अध्यक्ष यादवको व्यक्तिगत तथा राजनीतिक चरित्रहत्या गर्ने प्रयास भइरहेको समितिको दाबी छ ।
घटनाको बारेमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत एकपक्षीय र तथ्यहीन सामग्री प्रचार–प्रसार गरी जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै समितिले गम्भीर आपत्ति पनि जनाएको छ । समितिले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि प्रतिस्पर्धाका नाममा कुनै जनप्रतिनिधिलाई योजनाबद्ध रूपमा फसाउने, व्यक्तिगत प्रतिष्ठामा आँच पु¥याउने तथा सार्वजनिक जीवनमा असर पार्ने उद्देश्यले गलत सूचना वा भ्रामक भिडियो प्रयोग गर्नु निन्दनीय र आपत्तिजनक कार्य भएको जनाएको छ ।
गोपाल सेवा समितिले घटनाको सत्यतथ्य सम्बन्धित सुरक्षा निकाय तथा राज्यका जिम्मेवार निकायबाट निष्पक्ष र तथ्यमा आधारित छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेको छ । साथै, अपुष्ट आरोपलाई आधार बनाएर कुनै व्यक्ति वा समूहले पूर्वाग्रही ढंगले प्रचार–प्रसार नगर्न पनि समितिले आग्रह गरेको छ । राजनीतिक प्रतिस्पर्धा, व्यक्तिगत पूर्वाग्रह तथा योजनाबद्ध चरित्रहत्या गर्ने प्रयासबाट लोकतान्त्रिक संस्कार र जनप्रतिनिधिको सम्मानमा प्रहार हुन नदिन सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्नेमा समितिले जोड दिएको छ ।
अध्यक्ष यादवको प्रतिष्ठा तथा जनताले दिएको जनादेशको सम्मान गर्दै घटनाको सत्यतथ्य निष्पक्ष रूपमा बाहिर ल्याउन सम्बन्धित सबै पक्षसँग समितिले अपिल पनि गरेको छ ।

















