वीरगन्ज,निषेधाज्ञाको समयमा पनि मूल्य वृद्धि गरेर सामग्री बेचेको आरोपमा पर्सा प्रहरीले एक खुद्रा व्यपारीलाई पक्राउ गरेको छ । जिल्लामा कोभिड(१९ भाइरस सङ्क्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको समयमा ३ गुणासम्म बढी मूल्य लिएर कालोबजारी गरेको आरोपमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित नगरसभा गृह छेउको न्यू पप्पु किराना पसलका सञ्चालक लक्ष्मण पोद्दारलाई प्रहरीले पक्राउ गरेको हो ।
पोद्दारले १ सय ५ रुपैँया पर्ने बेकिंग पाउडरलाई ३ सय ८ मा बेचेको पाइएपछि शुक्रबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
महामारी र निषेधाज्ञाबीच कालोबजारी गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले पोद्दारले सञ्चालन गरेको पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा ५ सय ग्रामको बेकिङ पाउडरको बट्टामा उत्पादकले १ सय ५ रुपैयाँ अंकित गरेकोमा त्यसमा पोद्दारले कालो पोतेर ३ सय ८० लेखेको भेटिएपछि उनलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
पसलबाट १२ पिस बेकिङ पाउडरको डब्बाका साथै पोद्दारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको डिएसपी खनालले बताउनुभयो ।