पुष्पराज खतिवडा

मनहर्वा,विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ्गका कारण बारा जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । दैनिक ५० पटकभन्दा बढी लाईन काटिने र लामो समय नआउने समस्याले जनजीवन प्रभावित बनेको हो ।जिल्लाको मनहर्वा, श्रीपुर, जैतापुर, भोडहा, झिट्कैंया, महेशपुर, दोहरी, मझौलियालगायत ग्रामीण क्षेत्रका उपभोक्ताले यस्तो समस्या बेहोर्नु परेको हो ।चर्को गर्मीमा बारम्बार लाईन काटिँदा समस्या हुने गरेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ उचिडीका रविन पराजुलीले बताउनुभयो । ‘एकातिर खपिनसक्नुको उखरमौलो गर्मी छ, अर्कातिर खेतामा धान रोपाई गर्ने काम चलिरहेको छ, उहाँले भन्नुभयो, यस्तो समयमा पटकपटक विजुली काटिने गरेपछि राम्रोसँग सिँचाई गर्न पाइएको छैन ।’बिहान, बेलुका र दिउँसो अनियमित तरिकाले लाईन काटिने गरेकोले धेरै खालका समस्या बेहोर्नुपरेको सर्वधारणको गुनासो छ । ‘दुध संकलन र बिक्री गर्न गाह्रो भइरहेको छ । बिहान र बेलुकाको भातभान्सा र बालबालिकोको पठनपानमा समेत अप्ठ्यारो भइरहेको अर्का स्थानीय देवबहादुर मगरले बताउनुभयो ।विद्युत अनियमितताले कुटानी पिसानीसँगै स्थानीय संघ, संस्था तथा सरकारी निकायबाट प्रवाह हुने सेवा समेत प्रभावित हुदैआएको छ । ‘लाईन नहुँदा गर्मी बढेर कार्यालयबाट सेवा प्रदान गर्न कठिनाई हुने गरेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष चतुरबाबु वाग्ले बताउनुभयो ।छिनछिनमा लाईन आउने र जाने समस्याले गर्दा घरमा जडान गरिएको टेलिभिजन, फ्रिज लगायतका विधुतीय सामग्रीमा समेत क्षति पुग्ने गरेको र विधुत अवरोधका कारण सिँचाई गर्न समस्या हुँदा किसानलाई धान रोपाई गर्न गाह्रो भइरहेको वडा अध्यक्ष वाग्ले बताउनुभयो ।यता, नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख ऋषिकुमार वर्णवालले विद्युत प्रशारणका पुराना संंरचना र प्राशारण क्षेत्र ठुलो हुँदा यस्तो समस्या भइरहेको बताउनुभएको छ । समस्या समाधान गर्ने प्रयास भइरहेकाले आगामी एक महिनापछि यस्तो अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

Leave a Reply