निजगढ,निजगढ नगरपालिकामा अर्को सरकारी स्वास्थ्य संस्था संचालनमा आउने भएको छ । निजगढ ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा प्रदेश सरकारको सहयोगमा आयुर्वेदिक पद्दतिको उपचार सेवा प्रदान गर्ने नागरिक आरोग्य सेवा केन्द्र संचालन हुनलागेको हो ।
प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा केन्द्र कलैयाको युनिटको रुपमा निजगढमा आरोग्य सेवा केन्द्र संचालन हुने भएको हो । केन्द्रबाट ओपिडी सेवा संचालनको सबै तयारी पुरा भएको प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा केन्द्र कलैयाका सूचना अधिकारी सहदेव पण्डितले बताउनुभयो । उहाँका अनुसार आगामी एक साताभित्र केन्द्रको ओपिडी संचालनमा ल्याइने छ । ‘प्राथमिक स्वास्थ्य केन्द्रले संचालन अनुमति दिनासाथ केन्द्र संचालन गरिने छ, उहाँले भन्नुभयो, यसको लागि निजगढ नगरपालिका र अस्पताल संचालक समितिसंग सबै प्रक्रिया पुराभइसकेको छ ।’केन्द्रबाट तत्कालको लागि २ जना स्वास्थ्यकर्मीमार्फत आयुर्वेदिक पद्दतिबाट बिरामीहरुको रोग निदार उपचार गरिने बताइएको छ ।
मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षमा बाराका ७ वटा पालिकामा केन्द्र संचालन गर्न भनेर गरेको निर्णय अनुसार निजगढ आयुर्वेदिक उपचार सेवा संचालनमा आउन लागेको हो । प्रदेश सरकारले बाराको निजगढसहित जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हबी, पचरौता नगरपालिका र फेटा, विश्रामपुर र करैयामाई गाउँपालिकामा केन्द्र संचालन गर्ने निर्णय गरेको थियो । जसमध्ये फेटा र विश्रामपुरमा यसअघि मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले केन्द्रको उद्धाटन गरिसक्नुभएको छ ।जिल्लाको सिम्रौनगढ, आदर्शकोतवाल र कलैयामा नेपाल सरकारको सहयोगमा यसअघि आयुर्वेदिक सेवा केन्द्र संचालनमा रहेको छ ।















