कलैया,उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएपछि बारा जिल्लाका दुई जना प्रभावशाली नेताले अध्यक्ष यादवको साथ छोडेका छन् । जसपा बाराका नेता एवंम संविधान सभा सदस्य प्रमोद गुप्ता र मधेस प्रदेश सभाका पूर्व सदस्य पारसप्रसाद साहले यादवको साथ छाडेका हुन् । उनीहरु अशोक राईको नेतृत्वमा भएको पार्टी विभाजनको पक्षमा लागेका हुन ।
हाल उपप्रधान एवम् स्वास्थ्य मन्त्री रहनुभएका यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यसमेत हुनुहुन्छ । तर उहाँले नेतृत्व गरेको पार्टी विभाजन हुँदा बाराका जिल्लाका दुई ठुला नेता नै विपक्षमा लागेका छन ।पार्टी विभाजनमा राईलाई साथ दिनुभएका गुप्ता २०६४ सालको संविधानसभाका सदस्य हुनुहुन्छ भने साह २०७४ सालको मधेस प्रदेश सभाका सदस्य हुनुहुन्छ । पार्टीमा गुप्ता राजनीतिक समिति सदस्य र साह केन्द्रीय सदस्य रहेका थिए ।
अहिले राई नेतृत्वको नयाँ दलमा दुवैलाई केन्द्रीय सदस्य बनाइएको छ । संघ र प्रदेश दुबै तहको सरकारमा पार्टी रहेकै बेला नयाँ नेतृत्वलाई साथ दिएका गुप्ता र साह केन्द्रीय अध्यक्षबाट असन्तुष्ट देखिएका छन् । पार्टी विभाजनपछि प्रतिक्रिया दिँदै पूर्व प्रदेशसभा सदस्य साहले अध्यक्षको एकात्मक शासनबाट बाहिरिएको बताउनुभएको छ ।
अध्यक्ष (उपेन्द्र यादव) ले पार्टीलाई आफ्नै ढंगबाट चलाउन खोजेका कारण आफूहरु अलग भएको साहले बताउनुभयो ।
परिवर्तनका लागि देशमा भएका विभिन्न आन्दोलनमध्ये मधेस आन्दोलनको उपलब्धि जनताले अनुभूति गर्न नसकेको भन्दै साहले राई नेतृत्वको पार्टीले जनताको पक्षमा काम गर्ने बताउनुभयो ।दुई कार्यकालदेखि मधेस सरकारको नेतृत्व जसपा नेपालले गर्दै आए पनि प्रदेशमा शिक्षा र स्वास्थ्य क्षेत्रको स्तर घटेको र सीमा पार गर्ने गरी भष्ट्राचार बढेको साहको आरोप छ । आफू प्रदेश सभामा हुँदा भष्ट्राचारविरुद्ध आवाज उठाँउदा समेत सुनुवाई नहुँदा ‘फ्रस्ट्रेड’ हुनुपरेको साहले बताउनुभयो । अब तराई मधेस मात्र नभई समग्र देशकै हितमा काम गर्ने गरी राई नेतृत्वको पार्टीअघि बढ्ने बताउनुभयो ।साह र गुप्ता राई नेतृत्वको नयाँ दलतर्फ लागेसंगै जसपा नेपाललाई बारामा धक्का लाग्ने देखिन्छ । साह र गुप्तासंगै जिल्लाका अर्का प्रभावशाली नेता एवम् बारा ३ का पूर्वसांसद रामबाबुकुमार यादव समेत नयाँ नेतृत्वलाई साथ दिन सक्ने आकलन गरिएको छ ।मधेस प्रदेशको अध्यक्षको जिम्मेवारीबाट हटाएपछि रामबाबुसमेत केन्द्रीय अध्यक्ष यादवसंग रुष्ट बन्दैआउनुभएको छ ।
यसैबीच निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ ।
जसपा नेपालबाट विभाजित भएर जसपा नामको दल दर्ताका लागि आइतवार बहुमत सांसद र बहुमत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा निवेदन दिएका थिए । दल दर्तासम्बन्धी अध्यादेश खारेज भएको भए पनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्तासम्बन्धी नियमावलीमा टेकेर दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
वरिष्ठ नेता अशोक राईले सात जना सांसद र ३० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिनुभएको थियो । अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र एकलौटी गरिरहेको र अहिले भित्रभित्रै कांग्रेससँग गठबन्धनको तयारी गरिरहेको भन्दै असन्तुष्ट पक्षले बहुमतसहित नयाँ दल दर्ताको निवेदन दिएका हुन् ।सोमवार निर्वाचन आयोगले दल दर्ता गरिदिएसँगै जसपा नेपाल औपचारिक रूपमा फुटेको छ । अब सात जना सांसदसहित जसपा नामको नयाँ दल बनेको छ ।
जसपा नेपालले सोमवार विज्ञप्ति निकालेर अध्यादेश निष्क्रिय रहेको अवस्थामा दल विभाजन हुन नसक्ने दाबी गरेको भए पनि निर्वाचन आयोगले दल विभाजन भएर नयाँ दल बनेको मान्यता दिएको हो ।सौजन्य तस्बिर
















