जियालाल चौधरी 

कोल्हवी (बारा) । बाराको कोल्हवीमा भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेका २४ कार्टुन कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ। बरामद गरिएका चल्ला सरोकारवालाको रोहवरमा खाडल खनेर नष्ट गरिएको छ।

सोमबार बिहान करिब ५ः१० बजे कोल्हवी नगरपालिका–१ स्थित मठवा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले चल्ला बरामद गरेको हो। तामागढी सडकखण्ड हुँदै तीनवटा साइकलमा ल्याइँदै गरेका चल्ला विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस कोल्हवीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) रामअयोध्या महतोको कमान्डमा खटिएको टोलीले उक्त चल्ला नियन्त्रणमा लिएको थियो। बरामद चल्लाको बजार मूल्य करिब २ लाख ४० हजार रुपैयाँ रहेको बताइएको छ।

पशु क्वारेन्टाइन चेकपोस्ट मटिअर्वा, बाराका प्रतिनिधि विनोद यादव, वडा नं. १ का अध्यक्ष राजहरण चौधरी, अनुसन्धानका जङ्गबहादुर चौधरी, सञ्चारकर्मी तथा राजनीतिकर्मी भुवन चौधरीलगायतको उपस्थितिमा बरामद चल्ला खाडल खनी गाडेर नष्ट गरिएको हो।

Leave a Reply