काठमाण्डौं,निर्माणाधिन काठमाडौँ तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को जिम्मेवारी उपरथी कमल विक्रम शाहले पाउनुभएको छ ।यसअघिका आयोजना प्रमुख समेत रहनुभएका सहायक रथी विकास पोखरेल अवकाशमा गएसँगै राष्ट्रिय महत्वको यो योजनाको जिम्मेवारी शाहले पाउनुभएको हो ।

यसअघि पनि उपरथी शाहले यो आयोजनामा काम गरिसक्नुभएको छ । शाहले फास्ट ट्रयाक प्रमुखको रुपमा २०७९ असोजदेखि २०८० पुससम्म काम गर्नुभएको थियो । २०८० पुसमा पोखरेललाई नै जिम्मेवारी हस्तान्तरण गर्नुभएका उहाँले ८ महिनापछि पुनः उहाँबाट जिम्मेवारी लिनुभएकोे हो । उपरथी शाह नेपाली सेनाको विकास निर्माण कार्यदलको इन्जिनियरिङ विभाग प्रमुखसमेत हुनुहुन्छ ।
यसअघि पोखरेल विकास निर्माण निर्देशनालय प्रमुखको दरबन्दी भई फास्ट ट्रयाकको जिम्मेवारीमा रहनुभएको थियो । तर पदावधि सकिएपछि उहाँले ३ वर्ष पहिले नै अवकास पाउनुभएको हो । नेपाली सेनामा प्रधानसेनापतीले चाहेमा म्याद थप गर्न सक्ने व्यवस्था छ। म्याद थप भएको भए पोखरेल २०८४ सम्म उमेर हदका कारण सेनामा रहन सक्नुहुन्थ्यो । म्याद थप नभएसँगै सहायक रथी पोखरेल सोमवारदेखि नै घर बिदामा बसेको सैनिक मुख्यालय स्रोतले जानकारी दिएको छ। म्याद थप नभएर अवकासको पत्र थमाएपछि पोखरेल बिदामा बस्नुभएको हो । उहाँ असोज ७ गतेबाट अवकाश हुनुहुने छ ।

















