कलैया,डिजेसहित चुनाव प्रचार गरेको भन्दै बारा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार रहेका खानेपानी मन्त्री उमाकान्त चौधरीको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
चर्को ‘डिजे’सहित प्रचारप्रसार गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै उहाँको गाडी प्रहरीले नियन्त्रणमा लिएर छाडिदिएको हो । अब नदोहो¥याउने शर्तमा गाडी छाडेको बारा प्रहरीले जनाएको छ ।
केही दिनअघि मात्र सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर आचारसंहिता विपरीत प्रचारप्रसार गरेको भन्दै मन्त्री चौधरीको गाडी खोसिएको थियो । उहाँले मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आउनुभएको थियो ।
आचारसंहिता विपरीत बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर बा १२ च ७४३१ नम्बरको निजी (रातो) नम्बर प्लेट राख्दै दुरुपयोग गरेको समाचार बाहिरिएपछि आयोगले गाडी नियन्त्रणमा लिएको हो । निजी नम्बर मेलम्ची आयोजनाले खरिद गरेको टोयोटा ल्याण्ड क्रुजर प्राडो जिपको हो।
जीप भिए टेक वावाग प्रतिभा ई जे भीको नाममा बाग्मती प्रदेशमा दर्ता छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका प्रमुख परशु पोखरेलले मन्त्री चौधरीले सरकारी नम्बर प्लेट नै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिई खानेपानी मन्त्रालयमा फिर्ता पठाएको जानकारी दिनुभयो ।
यसैबीच चर्काचर्का आवाजमा डिजे बजाउँदै निर्वाचन प्रचार गरिरहेका चार स्वतन्त्र उम्मेदवारको गाडी प्रहरीले बरामद गरेको छ । आचारसंहिता उल्लंघन गर्दै चर्का आवाजमा बजाइएका ‘डिजे सेट’ बरामद गरेर तिनका समर्थक लाई सम्झाएर पठाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त राजेश थापाले जानकारी दिनुभयो ।

















