वीरगञ्ज – वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको स्नाकोत्तरतह (पीजी) को अध्ययनअध्यापन दुई सातादेखि रोकिएको छ । आवासीय चिकित्सक र मेडिकल कलेज सञ्चालकबीच सहमति हुन नसक्दा १३ दिनदेखि अध्ययन÷अध्यापन रोकिएको हो । दैनिक ३६ घण्टासम्म ड्युडी लगाउने, आवासीय चिकित्सकको अनावश्यक हाजिरी काटिदिने, विभिन्न निहुँमा कारबाही गर्ने गरेको भन्दै गत भदौ ३१ गतेदेखि पीजी पहिलो वर्षका ५५ जना आवासीय चिकित्सक आन्दोलनमा छन् ।
आवसीय चिकित्सक आन्दोलनमा उत्रिएपछि कलेलले स्नातकोत्तर तह प्रथम वर्षको अध्ययन अध्यापन बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्म सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकको कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटी र अन्य सबै प्रशक्षिण गतिविधि स्थगित गरिएको जनाएको छ ।
आन्दोलनमा रहेका प्रथम वर्षका आवासीय चिकित्सकका गतिविधिका कारण कलेजको शैक्षिक तथा क्लिनिकल वातावरण प्रभावित भएको भन्दै कलेजले त्रिभुवन विश्वविद्यालयलाई विद्यार्थी फिर्ता गर्नसमेत आग्रह गरेको छ । मेडिकल कलेजले शैक्षिक अनुशासन, संस्थागत विश्वास र स्वास्थ्य सेवा प्रभावित हुन नदिन उनीहरूलाई फिर्ता बोलाउन त्रिवि अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)लाई पत्र लेखेको हो ।
मेडिकल कलेजले आवासीय चिकित्सकलाई होस्टल छोड्न जान समेत भनेको थियो। चौतर्फी बिरोध भएपछि त्यो निर्णयबाट भने पछि हटेको थियो । ्हाल स्नाकोत्तर तह पहिलो र दोस्रो वर्षका आवासीय चिकित्सकको अध्ययनअध्यापन रोकिएको छ । रेजिडेन्टहरूमाथि गरिएको स्वेच्छाचारी कारबाही फिर्ता गर्नुपर्ने, ड्युटी समय व्यवस्थित गर्नुपर्ने, अनावश्यक हाजिरी काट्न नपाइने, तोकिएको निर्वाह भत्ता समयमै दिनुपर्ने जस्ता आवासीय चिकित्सकले माग राखेका छन् । आफ्ना माग सम्बोनका लागि तीनै तहका आवासीय चिकित्सकले भदौ २९ गते कलेजको प्रिन्स्पिललको कार्यालयमा पत्र बुझाएका थिए ।
आन्दोलनरत एक आवासीय चिकित्सकले माग पूरा गर्न दुई दिनको अल्टिमेटम समेत दिएको बताए । ‘माग पूरा नगरेपछि भदौ ३१ गतेबाट अस्पतालमा धर्ना सुरु गरेका थियौँ । असोज ३ गते वार्तामा बोलाएर धम्क्याउने, थर्काउने गरियो । हाम्रो माग पूरा गर्न कुनै चासो दिइएन्,’ उहाँले भन्नुभयो, ‘बेथितिबिरुद्ध आवाज उठाउँदा कलेजले विद्यार्थी फिर्ता पठाउछ र राज्यका सबै निकाय मौन बस्छन् । सरकार त फेरियो तर सत्ता फेरिएन ।’
राज्यका निकायभन्दा मेडिकल कलेज सञ्चालकहरू प्रभावशाली देखिएको उहाँको गुनासो छ । ‘मेडिकल कलेजको ज्याजती, शोषणा बढ्दै जाँदा पनि सरकारी निकायहरू मौन छन् । सबैतिर पुगेर भनिसक्यौँ । माग पूरा गर्न चासो दिइएको छैन,’ उहाँले भन्नुभयो, ‘सरकारभन्दा ठूलो मेडिकल कलेज सञ्चालहरू भए ।’ दुई सातादेखि अध्ययन अध्यापन रोकिएका कारण अप्ठ्यारो भएको आवासीय चिकित्सकले बताएका छन् । यसले आफूलाई निकै समस्या भएको उनीहरूले गुनासो गरेका छन् ।
















