राजन कुमार बानिया
पोखरिया,पर्साको ठोरी गाउँपालिकामा सरुवा भईआउनु भएका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले कार्यालयमा हाजिर भइ कार्यभार सम्हाल्नुभएको छ । बुधवार एक समहारोहका बीच प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको कार्यालयमा स्वागत गरिएको छ ।
गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठसहित उपाध्यक्ष गोकुली रेग्मी, वडा अध्यक्ष मानबहादुर थिङ, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ लगायत गाउँपालिका कर्मचारीहरुले अधिकृत कुशवाहालाई फूल माला र गम्छा ओढाएर स्वागत गरेका थिए । बुधवार नै कार्यालयमा कर्मचरी र जनप्रतिनिधिहरुबीच परिचयात्मक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।सो अवसरमा अधिकृत कुशवाहाले आफू जनतालाई छिटो र छरितो सेवा दिनुपर्ने पक्षमा रहेको बताउनुभयो । ‘हामी सबै मिलेर सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्छ, उहाँले भन्नुभयो, अनिमात्रै जनताले लोकतन्त्रको अनुभूति गर्न सक्नेछन ।’ प्रमुख प्रसाशकीय अधिकृत कुशवाहा जिल्ला समन्वय समिति पर्साबाट सरुवा भएर आउनुभएको हो ।

















