नरेश गुप्ता

बरियारपुर,महागढीमाई नगरपालिकामा जनता समाजवादी पार्टीबाट मेयर पदको आकांक्षी राजाबाबु साह बिहीवार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । जसपाबाट मधेस प्रदेशसभा सांसद शारदाशंकर साहका छोरासमेत रहेका साह नगरपालिकामा तत्कालिन मधेसी जनअधिकार फोरमबाट निर्वाचित वडा नम्बर– १० का वडाध्यक्ष चन्दनकुमार साह र वडा सदस्यसहित ६० जना नेता, कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

यसअघि जसपाबाटै महागढीमाई नगरपालिकाका मेयर पदको उम्मेदवार दावी गदै आउनुभएका साहलाई एमाले पार्टीले आगमी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउने देखिएपछि उहाँ एमालेमा प्रवेश गरेको बुझिएको छ । यसअघि २०७४ सालको स्थानीय निकाय निर्वाचनमा सोही पालिकाको मेयर पदमा लडनुभएका प्रदेशसभा सांसद शारदाशंकर साह त्यतिबेला कांग्रेसका उम्मेदवारसंग पराजित बन्नुभएको थियो ।

महागढीमाई नगरपालिका वडा नम्बर– १० गन्जभवानीपुरमा नेकपा एमाले नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम वडाध्यक्ष साह, वडा सदस्य बच्चु राम लगायत ६० जना पार्टी प्रवेश गरेका हुन् ।

नेकपा एमाले नगर कमिटीका अध्यक्ष शशिकान्त मिश्रको अध्यक्षता तथा पोलिटब्युरो सदस्य अच्युत मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मैनाली, बारा जिल्ला ईञ्चार्ज बलवीर चौधरी र नगर अध्यक्ष मिश्रले संयुक्त रुपमा टिका र माला लगाई नवप्रवेसीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रमका बोल्दै एमाले नेता चौधरीले नेपाल कम्युनिष्ट पार्टी एमाले सर्वहारा जनताहरुको एक मात्र विश्वासिलो पार्टी भएको बताउनुभयो । उहाँले एमाले पार्टी कुनै जाति र धर्म विषेशको मात्र नभइ सम्पूर्ण नेपालीको साँझा पार्टीको रुपमा रहेको उल्लेख गर्नुभएको थियो ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै महागढीमाईमा विभिन्न पार्टी त्याग गर्ने र प्रवेश गर्ने क्रम बढेको छ । यसअघि बुधवारमात्रै गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साह पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

Leave a Reply