पुष्पराज खतिवडा
मनहर्वा, १७ साउन– कलैया उपमहानगर २४ को बेलवाडी श्रीपुरमा उस्तै प्रकृतिको व्यथाले एक महिनाभित्र चार जनाको ज्यान गएपछि स्थानीय त्रसित बनेका छन् । गाउँकमा घरायँसी काममा व्यस्त रहदै आएका स्वस्थ र निरोगी मानिसहरुको लगातारजसो मृत्यु हुन थालेपछि वस्तिमा त्रास फैलिएको छ ।
गत असार १८ गते स्थानीय ५७ बर्षिय देवरती देवी दिनभरी खेतमा धान रोपरे साँझपख घर फर्कनुभयो । बेलुकीको खानापछि कोठामा बसेर टेलिभिजन हेर्दै गर्दा अकस्मात उहाँ छाति दुख्यो भन्दै छटपटाउन थाल्नुभयाे । परिवारका सदस्यले उपचारका लागि अस्ताल लैजान भनेर एम्बुलेन्स खोज्दै थिए । तर घरमा एम्बु्लेन्स आइपुग्नु अगावै उहाँले प्राण त्याग्नुभयाे ।
कैलाली अत्तरिया घर भइ फलामका सामान उत्पादन गर्ने स्थानीय उद्योगमा सवारी चलाउदै आएका ५० वर्षिय चक्रबहादुर साउदको मृत्यु पनि सामान्य अवस्थामा नै हुन पुगेको थियो । शौच गर्न भनेर गएका उहाँको शव असार ३० गते बिहान शौचालयभित्र फेला परेको थियो । कारखनाका कामदारले खबर गरेपछि प्रहरीले आएर शव लगेको र आफन्तलाई बुझाएको स्थानीयले बताएका छन ।
अर्का स्थानीय ५० वर्षिय मनऔर मियाँले पनि त्यस्तै अचानकको मृत्यु बेहोर्नु परेको छ । गत साउन ६ गते श्रीमतिसँग गफगाफ गर्दै गोठमा चौपायालाई घाँसपात पनि हाल्दै हुनुहुन्थ्यो । काम गर्दागर्दै मियाँ अचानक आँगनमै ढल्नुभयो । हस्याङ्गफस्याङ्ग नजिक पुुग्नुभएकी श्रीमतिले मियाँलाई उठाउन खोज्नु भयो । तर भ्याउनुभएन । मियाँले तत्काललै ज्यान गइसकेको थियो ।
त्यस्तै देवरती, साउद र मियाँको जस्तै फोनमा कुरा गर्दागर्दै अर्का स्थानीय ३९ बर्षका विरेन्द्र महत्तोकोसमेतको ज्यान गएको छ । सैलुन चलाउन भनेर केही दिनअघिमात्र काठमाण्डौं पुग्नुभएका उहाँको पनि साथीसंग फोनमा गफ गर्दागर्दै मृत्यु भएको थियो । काठमाण्डौंबाट गाउँका साथीसँग फोनमा कुरा गर्दैगर्दा महत्तोको मृत्यु भएको साथी सन्तोष ठाकुरले बताउनुभयो । ‘विरेन्द्रसंग कुरा गर्ने अन्तिम मान्छे म नै भएछुँ,’ ठाकुरले भन्नुभयो, पुरा कुरा गर्न नपाइ किन फोन काटियो होला भन्ने लागेको थियो, पछि पो थाहा भयो कुरा गर्दागर्दै ढल्नुभएको रहेछ ।’ पछि अरु साथीहरुले सुनाएपछिमात्रै महतोको त्यतिबेलै मृत्यु भएको जानकारी पाएको ठाकुरले बताउनुभयो ।
गाउँमा एकाएक मान्छे मर्न थालेपछि कलैया उपमहानगरपालिका वडा नम्बर– २४ को बेलवाडी श्रीपुर अहिले शोकमा डुबेको छ । र स्थानीय त्राससंगै आश्चर्यमा परेका छन । ‘गाउँका सबै मानिसहरु डराएका छन, सन्तोषले भन्नुभयो, त्रासले गाउँका मानिसको अनुहारमा चमक हराएको छ, घाँसपात, खेतिपातिको काम र एक्लैदुक्दै हिँड्न पनि मानिसहरु डराएका छन ।’ संन्तोषले मृत्यको कारण आफुहरुले पत्ता लगाउन नसकेको र अध्ययन गरेर पत्ता लगाइदिन सरकारसँग आग्रहसमेत गर्नुभएको छ ।
गाउँमा स्वस्थ र निरोगी देखिने मानिसहरु नै यसरी भटाभट मर्न थालेपछि स्थानीयमा चिन्तासँगै भय र त्रास बढेको स्थानीय लालुप्रसाद चौधरीले बताउनुभयो । मृत्यु हुनेमा एकै प्रकारको समस्या देखिएको पनि उहाँले बताउनु भएको छ । आफन्तले दिएको जानकारीअनुसार मृतकहरुको पहिले छाति दुख्ने र कहीबेरमै मृत्यु हुने गरेको पाइएको चौधरीको भनाइ छ ।
गाउँमा आश्चर्यजनक रुपमा सर्वसाधारणको लगातार मृत्यु हुन थालेपछि स्थानीय केही बुढापाका र धामीझाँक्रीहरुले भने देवता रिसाएर यस्तो भएको भन्न थालेका छन । ‘कुनै कारणले देवता रिसाएका छन, अर्का स्थानीय छुनी गिरीले भन्नुभयो, यही कारणले गाउँमा विगत केही वर्षयता असार र साउन महिनाभित्र कुनै न कुनै अप्रिय घटना र क्षेति हुदै आएको छ ।’ उहाँले देवतालाई खुसी पारेपछिमात्रै बिपत्तिबाट जोगिन सकिने पनि बताउनुभयो ।
कलैया उपमहानगरपालिका १६ का सामाजिक अगुवा ईनरदेव साह भने धामीझाक्रीले भने जस्तो देवीदेवता रिसाएर मानिसको मृत्यु नभएको बताउनुहुन्छ । गाउँका मानिसको स्वास्थ्य परीक्षण गरेर कारण पत्ता लगाउनुपर्ने उहाँको भनाइ छ । उहाँले विषाक्त खाद्यान्न, तेल, मसला वा पानीको प्रयोग पनि मृत्युको कारण हुन सक्ने भएकाले सोको अध्यायन जरुरी देखिएको उहाँको भनाइ छ । यसको लािग सरकारले ध्यान दिनु पर्ने र सोका लागि स्थानीय निकायको पहल जरुरी रहेको उहाँको भनाइ छ ।
सर्वसाधारणको अस्वभाविक मृत्युको कारण पहिचान गरी रोकथाम गरिदिन वडा नम्बर– २४ ले कलैया उपमहानगरपालिकालाई पत्राचार समेत गरेको छ । ‘उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रेचन्द्र जैसवाल शनिबार फर्कने गरी भारत जानु भएको छ, फर्कनासाथ आवश्यक सल्लाहा गरी गाउँमा स्वास्थ्य टोली परिचालन गरिने निमित्त शाखा प्रमुख अजयकुमार जैशवालले बताउनुभयो ।
त्यसैगरी मृत्युको कारण बारे बुझ्न तत्काल स्वास्थ्य टोली परिचालनकोलागि उपमहानगरपालिकालाई दवाव दिने जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले बताउनुभयो । उहाँले स्वस्थ मानिसको यसरी मृत्यु हुनु सामान्य घटना नभएको भन्दै अनुसन्धानको लागि स्वास्थ्य संयन्त्रलाई अलर्ट गर्ने बताउनुभयो ।