कृष्णउदास खनाल

वीरगन्ज,संघीय र प्रदेश सभाको चुनावको दिन नजिकिदै गर्दा पर्सामा चुनावी रस्साकस्सी बढ्दो छ ।

राजनीतिक नेतृत्वले केन्द्रमा एउटा सहमति गरे पनि त्यसको विरोध स्थानीय तहमा भएको छ तर आफुहरुको सुनुवाइ नेतृत्वले पटक्कै नगरेको पर्साका काँग्रेसका नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनमा पर्साको चारवटा निर्वाचन क्षेत्र मध्ये एउटा मात्र काँग्रेसलाई दिने सहमति भएपछि यहाँका काँग्रेसका नेता कार्यकर्ता तथा शुभचिन्तहरु ससंकित भएका छन् । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट गर्दा पर्साका प्रतिनिधिसभाका ३ क्षेत्र जनता समाजवादी पार्टीलाई दिन नसकिने बताउनुभएको छ ।

सिट बाँडफाँडका क्रममा पर्साका ३ सिट जसपाले पाउने समाचारहरु बाहिरिएपछि कांग्रेसको जिल्ला समितिले असन्तुष्टि जनाएको हो ।जिल्लाको सबै सिट कांग्रेसले पाउनुपर्ने दावी गर्दै आएको जिल्ला समितिले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँडमा सहमति भइनसकेको बताएको छ । नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले सिट बाँडफाँड टुंगोमा नपुगेको दाबी गर्नुभएको हो ।

०७४ सालको प्रतिनिसभा सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं १ मा तत्कालिन संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रदीप यादव, क्षेत्र नं २ मा पनि संघीय समाजवादी फोरम नेपालकै तर्फबाट बिमल श्रीवास्तव, क्षेत्र नं ३ मा संघीय समाजवादी फोरम नेपालका तर्फबाट हरिनारायण रौनियार र क्षेत्र नं ४ मा राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्ण निर्वाचित भएका थिए ।

४ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस दोस्रो स्थानमा थियो । गठबन्धनको साथ पाउँदा चार वटै निर्वाचन क्षेत्रमा विजय प्राप्त गर्नेमा कांग्रेस ढुक्क छ ।तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेका ३ जनामध्ये प्रदीप यादव हाल जनता समाजवादी पार्टी नेपालबाट वन तथा वातावरण मन्त्री हुनुुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा रहेका श्रीवास्तव राजनीतिबाट सन्यास लिँदै हुनुहुन्छ भने पप्पु कन्स्ट्रक्सनका संस्थापक हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बित छन् ।

स्थानीय तहको चुनावमा पनि वीरगन्ज महानगरको मेयरमा आफूहरु बैशाखी मात्र भएको भन्दै पर्साका काँग्रेसका नेताहरुले अब संघीय सदनका लागि छाड्न नसकिने बताएका छन् । जसपाका जिल्ला नेताहरुले भने कन्द्रको सहमति जिल्लाका नेताहरुले पालना गर्नुको विकल्प नभएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here