वीरगञ्ज,राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी गर्ने बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।कोरियामा बस्दै आएका एक युवकको खाताबाट बैंकका कर्मचारी रोहितकुमार ओझाले रकम निकालेका हुन । ओझा वाणिज्य बैंक पर्साको पोखरिया शाखामा कनिष्ट सहायकमा कार्यरत थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । ओझाले खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका सिआइबीका प्रवक्ता एसपी होबीन्द्र बोगटीले जानकारी दिनुभएको छ । ग्राहकको नगद मौज्दात हेर्ने क्रममा ओझाले कोरियामा रहेका ती युवकको खाता नम्बर इन्ट्री गरेका थिए । सोहीक्रममा खातामा दुई करोड रुपैयाँभन्दा धेरै रकम रहेको जानकारी पाएको र लामो समयदेखि खातामा कारोबार समेत नभएको देखेपछि उनले पैसा निकाल्ने योजना बनाएको सिआइबीका प्रवक्ता एसपी बोगटीले जानकारि दिनुभएको छ ।


















