सिमरा,जीतपुरसिमरा क्रिकेट कपमा सर्लाही जिल्ला क्रिकेट संघले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित हात पारेको छ । उद्घाटन खेलमा पर्सालाई स्तब्ध बनाएका
सर्लाहीले आइतबार बारालाई ४१ रनले पराजित गर्दै आफ्नो जितको यात्रालाई निरन्तरता दिएको हो ।

जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको बारा १५.५ ओभरमा ११० रनमै समेटिएपछि सर्लाहीले जित निकाल्यो । सर्लाहीका जितेश मण्डलले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। अभय यादव, अली हसन र राहुल महतोले समान दुई÷दुई विकेट हात पार्दा चक्रधार यादवले एक विकेट लिए ।
बाराका लागि रविकुमार साहले २७ रन बनाए भने भुलावन सहनीले २० रन जोडे। त्यस्तै महमद साहिद अलीले ११ र सिराज हवारीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सर्लाहीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । सर्लाहीका अली हसनले ३८ रनको महत्वपूर्ण योगदान दिए भने रोशन राउतले ३४ रन बनाए । रञ्जित यादव ३३ रनमा अविजित रहे ।
बलिङतर्फ बाराका मन्नु हवारी र भुलावन सहनीले दुई-दुई विकेट लिए । रविकुमार साह, सिराज हवारी, युवराज सर्राफ र रोहन साहले समान एक-एक विकेट हात पारे ।
उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सर्लाहीका अली हसन ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमबार बारा र पर्साबीच प्रतिस्पर्धा हुनेछ । जीतपुरसिमरा स्पोर्टस् क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply