काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ६.६२ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १.४० अंकले बढेर २ हजार ६६५ अंकमा पुगेको छ ।
बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ । मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज कुल ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबारका क्रममा अन्य समूह सबैभन्दा बढी ६.१८ प्रतिशतले बढेको छ । यस समूहमा सूचीकृत नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयरमा उच्च आकर्षण देखिँदा समग्र समूहमा सकारात्मक प्रभाव परेको हो ।
मन्त्रिपरिषद् बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेपछि नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्ने तयारीसँगै हिमालयन रिइन्स्योरेन्सको मूल्य ११.४८ प्रतिशतले उकालो लागेको छ ।
अन्य समूहसँगै व्यापार समूह १.११ र जीवन बीमा समूह ०.१० प्रतिशतले बढेका छन् । तर बैंकिङ ०.८२, विकास बैंक ०.४४, वित्त ०.८२, होटल तथा पर्यटन ०.७४, जलविद्युत् ०.६८, लगानी ०.४५, उत्पादन तथा प्रशोधन ०.२८, लघुवित्त ०.२० र निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले घटेका छन् ।
व्यक्तिगत कम्पनीतर्फ स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य ८.६५ प्रतिशतले बढेको छ । घोराही सिमेन्टको ५ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ४.९७ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको ४.४२ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यसैगरी शिखर पावरको सेयर मूल्य ३.७४ प्रतिशत, सीवाईसी लघुवित्तको ३.३४ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.२६ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ३.२० प्रतिशतले घटेको छ ।
बुधबार कारोबार रकमका आधारमा स्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र ग्लोबल आईएमई बैंक अग्रस्थानमा रहेका छन् ।

















