पुष्पराज खतिवडा
मनहर्वा,निजगढ नगरपालिका वडा नम्बर– ४ बागदेवस्थित शहिद हिरालाल पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास हुदै गएको छ ।
पार्कको प्रवेशव्दारमा हालै निर्माण गरिएको बाघको मुख र रंगिन पर्खालले पार्कको सुन्दरता थप बढाएको हो । त्यसैगरी यसअघि नै निर्माण भएको भ्यु टावर यस क्षेत्रको सबै भन्दा आकर्षक स्थान हो । ४ वर्षअघि निजगढ नगरपालिकाले निर्माण सुरु गरेको टावरबाट निजगढ नगरपालिका लगायत आसपासको दृश्यावलोकन गर्न सकिने छ । टावरबाट दृश्यावलोकन गर्न टाढाटाढाका मानिसहरु आउने गरेको स्थानीय राम खडकाले बताउनुभयो । यस क्षेत्रमा बारा लगायत पर्सा, रौतहट, सर्लाही जिल्लाका विभिन्न स्थानबाट दैनिक १ सय ५० बढीको संख्यामा मानिसहरु आन्तरिक पर्यटकका रुपमा आउने गरेको उहाँले बताउनुभयो । शनिबार र विदाको दिन यो संख्या अझ बढी हुने गरेको छ । पार्क अवलोक गर्न कुनै किसिमको शुल्क तिर्न पर्दैन । यस वर्षको निषेधाज्ञाका अवधिमासमेत पार्कमा घुम्न आउनेहरुको संख्यामा कमी नआउको पार्क व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्यालले बताउनुभयो ।
पार्क क्षेत्रभित्र मनकामना देवीको मन्दिर, सहिद हिरालाल गौतमको शालिक, विवाह तथा पार्टी, भेला सेमिनार गर्न मिल्ने हल र किचन पनि निर्माण भएका छन् । चुरे डाँडामा सखुवाको घना जंगलकोबीचमा रहेको सो पार्कमा सालका विरुवासंगै उकाली÷ओराली गर्दैै टावरबाट टाढाटाढासम्मको दृश्यावलोकन गर्न सकिने हुँदा आकर्षण बढेको अध्यक्ष अर्यालले बताउनुभयो ।
पार्कको आकर्षण थप बढाउन यस वर्ष नेपाल सरकार पर्यटन मन्त्रालयको ५५ लाख, प्रदेश २ सरकारको ५ लाख र निजगढ नगरपालिकाको १० लाख रुपैंया सहित ७० लाख रुपैंयाको आर्थिक सहयोगमा पर्यटनमैत्री संरचनाहरु निर्माण भइरहेका छन । सो रकमबाट पार्कभित्रे कम्पाण्ड वाल, शहिद हिरालाल गौतमको प्रतिमा क्षेत्र सुधार, सडक किनारमा नाला र सेमिनार हल सुधार तथा मर्मतको काम भइरहेको पार्क व्यवस्थापन समितिका सचिव अम्मर स्याङ्गतानले बताउनुभयो । वाघभैरव सामुदायिक वन उपभोक्ता समुह, डिभिजन वन कार्यालय बारा, नेपाल सरकार र निजगढ नगरपालिकाले समेत यस क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले सहयोग गरिरहेको उहाँको भनाइ छ । पार्कलाई थप अकर्षक र मनमोहक तुल्याएर प्रदेश नम्बर २ कै प्रमुख गन्तव्यको रुपमा विकास गर्न समितिले डिपिआर तयार पार्ने कार्य गरिरहेको सचिव स्याङ्गतानले बताउनुभयो ।