नरेश गुप्ता

बरियारपुर,बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनसंगै बजार अनुगमनलाई पनि निरन्तरता दिने बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय बारामा आयोजित सुरक्षाकर्मी तथा सरोकारवालासंगको अन्तरक्रिया कायक्रममा बोल्दै प्रजिअ कटुवालले कोभिड १९ जोखिम कायमै रहेकोले सिमा नाकामा एन्टिजेन किटको व्यवस्थापन र हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताउनु भयो ।

चाडपर्वमा म्याद गुज्रिएको खाद्यान्न बिक्री वितरण हुन सक्ने भएकोले त्यस्तो कार्यमा रोक लगाइने तथा माछा मासु र होटल व्यवसायीहरुले उपभोक्ता ठग्ने प्रवृत्तिलाई पूर्णरुपमा नियन्त्रणमा गर्नुपर्ने उहाँले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै गृह मन्त्रालयबाट खटिएको अनुगमन टोलीका बिश्वराज मरासिनीले चाडपर्वमा मुख्यत उपभोक्ता मारमा नपरुन भनेर बजार अनुगमन, अखाद्य बस्तु नियन्त्रणमा लिएर नष्ट गर्नुको साथै दण्ड जरिवानाको व्यवस्था समेत मिलाउनु पर्ने उहाँले बताउनुभयो । खुला सिमानाबाट हुने तस्करी नियन्त्रण, लुटपाट, हतियार ओसारपसार, मानव बेचबिखन लगायतका अपराधिक क्रियाकलाप न्यूनीकरणको लागि आवश्यक सुरक्षा नीति अवलम्बन गर्नु पर्ने उहाँको भनाइ थियो ।

सिमा नाकामा खुल्लमखुल्ला बिक्री वितरण हुने गरेको मदिरा भट्टी पसललाई स्थानीय तहसंगको समन्वयमा व्यवस्थापन गर्नुपर्ने अनुगमन टोलीका मरासिनीले बताउनुृभयो ।

त्यसैगरी चाडपर्व लक्षित सुरक्षा र चुनौतीलाई सामना गर्न आवश्यक कार्य योजना बनाएको बाराका प्रहरी प्रमुख दिपेन्द्र शाहीले जानकारी दिनुभयो । जिल्लामा पर्ने राजमार्ग तथा सहायक मार्गमा सवारीसाधन तथा यात्रीमाथि हुने लुटपाट नियन्त्रण गर्न जिल्लाका तीन स्थानबाट रात्री गस्ती खटाइने उहाँले बताउनुभयो । त्यसैगरी बैक तथा बित्तीय संस्था र आर्थिक कारोबार हुने स्थानमा हुन सक्ने लुटपाट तथा चोरी नियन्त्रण गर्न सुरक्षा योजना बनाइएको उपरीक्षक शाहीले जानकारी गराउनु भएको थियो ।

त्यसैगरी चाडपर्वमा राजमार्गमा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न चेकिङ्ग व्यवस्थापन र अलपत्रमा परेको यात्रीहरुको उद्धारको लागि जिल्लामा ७ वटा यात्रु सहायता कक्षको स्थापना गर्ने पनि उहाँले बताउनुभयो ।

नेपाल भारत सिमा नाकाबाट हुने तस्करी नियन्त्रण र चाडपर्वमा हुने अपराधिक क्रियाकलाप रोक्न ५६ स्थानमा मोबाइल गस्ती टोली परिचालन गर्ने भएको छ । त्यसैगरी चाडपर्वमा हुने नाचगानमा भिडभाड हुन नदिन नाचगान गराउन स्वीकृति नदिने र जुवातास नियन्त्रण गरिने प्रहरी प्रमुख शाहीले जानकारी गराउनु भएको छ । प्रमुख जिल्ला अधिकारी कटुवालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा ज्वाला दल गण बाराका प्रमुख सेनानी भुपेन्द्र गोदार, सशस्त्र प्रहरी बल १२ नम्बर गणका गुल्मपती रबिनराज कर्णजित, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, जिल्ला जनस्वास्थ्य कार्यलय बाराका प्रमुख रामनरेश यादव, राष्ट्रिय अनुसन्धान विभागका बाराका प्रमुख रिबेनकुमार गच्छेदार, उद्योग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार गुप्ता, प्रमुख प्रशासकीय अधिकृत मुरारी कार्की, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here