काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३र८४ का लागि सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद प्रक्रिया सुरु गरेको छ। कम्पनीले वास्तविक किसानलाई प्राथमिकता दिँदै एक किसानबाट अधिकतम ३० क्विन्टलसम्म धान खरिद गर्ने नीति बनाएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६०६ रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ तोकिएको छ।
कम्पनीको प्रधान कार्यालयले पहिलो चरणमा बर्दियाको राजापुर शाखालाई ३० हजार क्विन्टल धान खरिद गर्न अख्तियारी दिएको छ। यसमध्ये २५ हजार क्विन्टल मोटा र ५ हजार क्विन्टल मध्यम धान खरिद गरिनेछ।
यस्तै, कञ्चनपुरको महेन्द्रनगर शाखाले धान खरिदको कार्यतालिका सार्वजनिक गरेको छ। किसानलाई कात्तिक १९ र २० गते कुपन वितरण गरिनेछ भने कुपन प्राप्त गरेका किसानको धान कात्तिक २७ गतेदेखि गोदाममा तौलिने व्यवस्था गरिएको छ।
धान बिक्री गर्न किसानले नागरिकताको प्रतिलिपि र जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० अनिवार्य बुझाउनुपर्नेछ। जग्गा भाडामा लिएर खेती गर्ने किसानले ठेक्का सम्झौतापत्र वा वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ।
कम्पनीले धान सफा र गुणस्तरीय हुनुपर्ने तथा कुपनमा तोकिएको मितिमै ल्याउनुपर्ने जनाएको छ। धान बिक्री गरेबापतको रकम किसानकै बैंक खातामा जम्मा गरिनेछ।
बिचौलियालाई निरुत्साहित गरी वास्तविक किसानलाई सरकारी समर्थन मूल्यको लाभ पुर्याउने उद्देश्यले खरिद प्रक्रियामा कडाइ गरिएको कम्पनीले जनाएको छ।
















