अस्पताल बिरामीमैत्री नै हुुनु पर्दछ । अस्पताल संचालन गर्नुको उद्देश्य नै बिरामीहरुलाई सेवा दिनु नै हो तर नेपालको सन्दर्भमा भने निजी अस्पतालहरुले सेवा पनि राम्रो दिने र रकम पनि राम्रो लिने अनि सरकारी तथा सामुदायिक अस्पतालहरुमा समस्या सृजना गर्ने गरेको पनि आरोप लाग्ने गर्दछ । तर, नेपालका सामुदायिक तथा सरकारी अस्पताल भने बिरामीमैत्री छैनन् । एकाध अस्पताल बाहेक धेरैले सेवा प्रवाह राम्रोसंग नगरेको नै गुनासो आउने गर्दछ । बारा जिल्लामा पनि सरकारी अस्पतालहरु छन् । सामुदायिक अस्पतालहरु छन् तर यिनीहरुको सेवा प्रवाह संतोषजनक छैन । सरकारी तथा सामुदायिक अस्पतालसंगै जोडिएका निजी अस्पतालहरुको सेवा भने राम्रो देखिन्छ । सरकारी अस्पतालहरुको तुलनामा सामुदायिक अस्पतालहरुको सेवा प्रवाह त ठीकै देखिन्छ यद्यपि यसमा पनि संतोष गर्ने ठाउँ छैन । बाराको निजगढमा नै रहेको सामुदायिक अस्पतालकै कुरा गर्ने हो भने पनि मुख्यमन्त्रीदेखि त्यही क्षेत्रबाट निर्वाचित सांसदले समेत अनुगमन गरेको देखिन्छ । पटक पटक सरकारी पक्षबाट अनुगमन गर्ने अनि सुधार चैं केही नहुने हो भने अनुगमनको अर्थ पनि छैन । अनुगमन भएपछि त्यसभित्र देखिएको समस्या समाधान गरी अस्पताललाई अझै बिरामीमैत्री बनाउन आवश्यक देखिन्छ । अस्पतालको सुधारका लागि प्रयास हुन एकदमै आवश्यक छ । स्वास्थ्यकर्मी सहित आवश्यक श्रोत साधनको बिषयमा पनि सरकार र जनप्रतिनिधिहरुले सोच्न आवश्यक छ ।

















