वीरगन्ज,मधेश प्रदेश सरकारका ३ जना मन्त्रीले हार बेहोरेका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनको मत परिणामअनुसार मधेश प्रदेशका ३ जना प्रमुख मन्त्रीहरु पराजित भएका हुन् । मुख्यमन्त्री लालबाबु राउतसहित चुनावी मैदानमा उत्रिएका ६ जनामध्ये ३ जना विजयी हुँदा ३ जनाले हार बेहोर्नु परेको हो ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधनप्रसाद महतो पराजित भएका हुन् । सप्तरी क्षेत्र नम्बर २ (क) बाट प्रतिस्पर्धा गरेका अर्थमन्त्री साह जनमत पार्टीका सतिशकुमार सिंहसँग ८ हजार ४ सय ४२ मतले पराजित हुनुभएको हो । यो क्षेत्रबाट विजयी भएका सिंहलाई १६ हजार ७ सय ३४ मत आएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी रहेका साहले ८ हजार २ सय ९२ मत ल्याउनुभयो ।
यसैगरी सिरहाको क्षेत्र नम्बर २ (क) बाट चुनाव लडेका कृषि मन्त्री विजयकुमार यादवलाई जनमत पार्टीकै सञ्जयकुमार यादवले ६ सय ४४ मतले पराजित गर्नुभएको छ । यस क्षेत्रबाट विजयी भएका सञ्जयलाई १२ हजार १ सय ७१ मत आएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी विजयलाई ११ हजार ५ सय २७ मत आएको छ ।
यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई नेकपा (एमाले) का हरिनारायण महतोले १ हजार ३ सय ४२ मतले पराजित गर्नुभएको छ । यो क्षेत्रबाट विजयी भएका हरिनारायणलाई १७ हजार ३ सय २ मत आउँदा उद्योग मन्त्री शत्रुधनलाई १५ हजार ९ सय ६० मत आएको छ ।
मधेश प्रदेश सरकारका ३ जना मन्त्री पराजित हुँदा मुख्यमन्त्री लालबाबु राउत पर्सा क्षेत्र नम्बर १ (ख) बाट, कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोदकुमार यादव सिरहा क्षेत्र नम्बर ३ (ख) बाट र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्बर १ (ख) बाट पुनः निर्वाचित हुनुभएको छ ।
सामाजिक विकासमन्त्री नवलकिशोर साह भने सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।