दुष्यन्त चौधरी
कलैया,बारा जिल्ला अदालतले आर्थिक वर्ष २०८१-०८२ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छौट गरेको छ ।
अदालतले सो वर्ष ९३.२८ प्रतिशत मुद्दा फर्छौट गरेको हो ।बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुर कार्कीका अनुसार, अघिल्लो वर्ष बाँकी रहेकोसहित नयाँ गरी कुल ९ हजार ४७९ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये ५ हजार ८०२ मुद्दा फर्छौट गरिएका छन् भने ३ हजार ६७७ मुद्दा फर्छौट प्रक्रियामा छन् ।
उहाँका अनुसार देवानीतर्फ ६ हजार २३२ मुद्दा दर्ता भएकोमा ३ हजार ८१५ मुद्दा फर्छौट भएका छन् भने २ हजार ४१७ मुद्दा अझै बाँकी छन् । त्यस्तै, सरकारवादी फौजदारीतर्फ १ हजार १२९ मुद्दामध्ये ७२१ मुद्दा फर्छौट भएको र ४०८ मुद्दा बाँकी रहेको बारा जिल्ला अदालतका श्रेस्तेदार कार्कीले जानकारी दिनुभयो ।साथै दुनियावादी फौजदारीमा १ हजार ८०२ मुद्दा दर्ता भएका थिए, जसमा १ हजार ६२ फर्छौट र ७४० मुद्दा बाँकी छन् । पुनरावेदन भएका ३४ मुद्दामध्ये १८ मुद्दा फर्छौट भएका छन् भने रिट निवेदनतर्फका २८२ मध्ये १८६ फर्छौट भएको श्रेस्तेदार कार्कीले जानकारी दिनुभयो । अदालतका श्रेस्तेदार कार्कीले आर्थिक वर्ष २०७९-८० मा ५१.४० प्रतिशत, आर्थिक वर्ष २०८०-८१ मा ५८.४०प्रतिशतर आर्थिक वर्ष २०८१-८२ मा ६१.२०प्रतिशतमात्र मुद्दा फर्छौट भएको जानकारी दिनुभयो ।
अघिल्ला आर्थिक वर्षहरु मध्ये अन्य आर्थिक वर्षको तुलनामा मुद्दा फर्छौैट हुने संख्यामा आर्थिक वर्ष २०८१÷०८२ मा ३ प्रतिशतले वृद्धि भएको श्रेस्तेदार कार्कीले दावी गर्नुभयो । श्रेस्तेदार कार्कीका अनुसार, सबैभन्दा धेरै मुद्दा फर्छौट गर्ने न्यायाधीश कोमलप्रसाद अचार्य रहनु भएको छ। उहाँले एक वर्षमै १ हजार ८४ मुद्दा टुंग्याउनुभएको छ ।त्यसैगरी दोस्रो नम्बरमा अर्का न्यायाधीश इन्दिरा शर्माले १ हजार ७७ मुद्दा फर्छौट गर्नुभएको छ । तर, अदालतमा अझै पनि २ सय ५९ मुद्दा दुई वर्षभन्दा पुराना मुद्दा टुङ्गो लगाउन बाँकी रहेको रहेको छ ।



















