काठमाण्डौ – आफूलाई तपस्वी भनेर चिनाउने विवादित धर्मगुरु रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई मंगलवार काठमाण्डौबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।एक जना अनुयायीको हत्या, व्यक्ति बेपत्ता तथा जबरजस्ती करणी मुद्दामा प्रहरीको खोजीमा रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले यसअघि पटक पटक प्रयास गरे पनि सफल भएको थिएन ।जिल्ला अदालत सर्लाहीले २०७६ माघमा पहिलो पटक बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी सम्पर्कविहीन भएपछि खोजीमा सीआईबीको टोली २०७७ सालको असारमा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको भए पनि पक्राउ गर्न असफल भएको थियो । लामो समय बाराको हलखोरिया जङ्गलमा बसेका बम्जन पछिल्लो समय सिन्धुलीमा आश्रम बनाएर बसेका थिए ।



















