राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाँके क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद खगेन्द्र सुनार जोडिएको अडियो काण्डले नेपाली राजनीतिमा नैतिक आचरण र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ । सुशासन, सदाचार र वैकल्पिक राजनीतिको नारा बोकेर जनताको मत जितेको रास्वपाका सांसद नै यस्तो विवादमा तानिनु विडम्बनापूर्ण छ ।
यो घटनाले जनप्रतिनिधिहरूको व्यक्तिगत र सार्वजनिक आचरण कति पारदर्शी र जवाफदेही हुनुपर्छ भन्ने विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ ।
अडियो सार्वजनिक हुनासाथ रास्वपाले आन्तरिक छानबिन प्रक्रिया सुरु गर्नुलाई सकारात्मक कदम मान्न सकिन्छ, तर यो केवल औपचारिकतामा मात्र सिमित हुनु हुँदैन । आरोप लागेका सांसद सुनारले यसलाई आफ्नो बद्नाम गर्ने षड्यन्त्र भएको दाबी गरे पनि, सार्वजनिक पदमा रहेका व्यक्तिको हकमा निष्पक्ष अनुसन्धान आवश्यक हुन्छ । यो प्रकरण केवल एक सांसदको आचरणसँग मात्र होइन, बरु सिंगो संसद् र उहाँले प्रतिनिधित्व गर्ने नयाँ राजनीतिक शक्तिको विश्वसनीयतासँग पनि जोडिएको छ ।
अडियो काण्डको वास्तविकता के हो भन्ने कुराको निरुपण सत्यतथ्य छानबिन र कानुनी प्रक्रियाबाट छिटोभन्दा छिटो हुनुपर्छ । यदि उनी दोषी ठहरिएमा पार्टी र कानुन दुवैले कडा कदम चाल्न हिचकिचाउनु हुँदैन । राजनीतिक दल र तिनका नेताहरूले पुरानै प्रवृत्तिको पुनरावृत्ति गर्ने हो भने जनतामा व्याप्त नैराश्यता झन् बढ्नेछ ।
तसर्थ, यो घटनालाई राजनीतिक दाउपेच वा ढाकछोपको विषय नबनाई, निष्पक्ष अनुसन्धानमार्फत विधिको शासन र उच्च नैतिक मूल्य स्थापित गर्ने अवसरका रूपमा लिनुपर्छ ।













