कलैया,निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेकोे सडक मर्मतसम्भार र सुरक्षाको लागि कलैया उपमहानगरपालिकाले अघिल्लो आठ वर्षमा करोडौं रुपैयाँ खर्च गरेको छ ।सडक निर्माणको जिम्मा लिएको सप्तकोशी जलाधार—ओम साई एण्ड कम्पनी उपक्रम (जेभी), काठमाडौंले समयमै निर्माण कार्य पूरा नगर्दा उपमहानगरपालिकाले बार्षिक लाखौं रुपैया खर्च बेहोर्नु परेको हो ।

कलैयाको मटिअर्वा–मानमत क्षेत्रको करिब साढे तीन किलोमिटर अधुरो सडकमा धुलो र हिलो नियन्त्रण र खाल्टाखुल्टी पुर्न नगरपालिकाले आफ्नै स्रोतबाट रकम खर्च गर्दैआएको छ ।अधुरो सडकको धुलो नियन्त्रण गर्न ट्यांकरले दैनिक पानी छर्किने, खाल्डाखुल्डीमा माटो भर्ने, ग्राभेल हाल्ने काम गर्दै आएको उमहानगरपालिकाले यो अवधिमा मासिक करिब सात सय लिटर डिजेल खर्च गरेकोे र वार्षिक करिब १५ लाख रुपैयाँ खर्च भइरहेको जनाएको छ । कार्यालयका अनुसार आठ वर्षको अवधिमा उपमहानगरपालिकाले सो सडकमा करिब एक करोड रुपैयाँ खर्च गरिसकेको छ ।
तर, सडक निर्माण गर्ने कम्पनीले काम अलपत्र राखेका कारण सडक अझै पूर्णरूपमा निर्माण हुन सकेको छैन । उपमहानगरपालिकाले नगरवासीको दबाब र सडकको दैनिक प्रयोगको आवश्यकतालाई मध्यनजर गर्दै मर्मत जारी राख्ने जनाएको छ ।

करिब चार किलोमिटर सडक स्तरोन्नतिका लागि २७ पुस २०७८ मा २२ करोड ३१ लाख रुपैयाँ (कर सहित)मा ठेक्का सम्झौता भएको थियो । १ माघ २०७९ भित्र निर्माण सम्पन्न गर्ने गरी सुरुवाती ठेक्का सम्झौता भएकोमा दोस्रो पटक थपिएको म्याद ४ चैत २०८२ मा सकिँदैछ । सडक निर्माणको भौतिक प्रगति करिब २० प्रतिशत मात्र छ ।

Leave a Reply