मनोज शाह
जीतपुर,सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको ढिलासुस्तिका कारण जीतपुरसिमरा उपमहानगरपालिकाको बढरवा– जीतपुर बकुलिया सडकखण्डको निर्माण कार्य अलपत्र परेको छ ।उपमहानगरपालिका वडा नम्बर ७ अन्तर्गत पर्ने सो सडकमा नालासहित कालोपत्रे गर्न एआर सिलवाल÷महालक्ष्मी कन्ट्रक्शन रौतहटले २ वर्षअघि नगरपालिकाबाट ठेक्का लिएको थियो । सडक निर्माणको क्रममा आधा मात्रै काम गरेर ठेकेदार सम्पर्कविहिन भएपछि अलपत्र बनेको सडकका कारण स्थानीय बासिन्दाले समस्यामा बेहोर्नु परेको छ ।
फत्तेहपुरका स्थानीय रामलखन चौधरीले अधुरो सडकका कारण धुलो, हिलो र खाल्डाखुल्डीले दिनहुँजसो सवारी दुर्घटना हुने समस्या देखिएको बताउनुभयो । उहाँले सडकका कारण स्थानीयको स्वास्थ्यमा समेत नकरात्मक असर परेको सुनाउनुभयो ।त्यस्तो बकुलिया टोलका होटल व्यवसायी रामविनय शाहले पनि सडकको दुरावस्थाका कारण आफूहरुको व्यवसाय नै चौपट भएको सुनाउनुभयो । ‘सडकमा हिडडुल गर्न नै समस्या हुन्छ, उहाँले भन्नुभयो, वर्षामा हिलो र हिउँदमा धुलोले ग्राहकहरु आउनै छोडेका छन ।’
सोही सडक प्रयोग गरेर विद्यालय आवतजावत गर्ने विद्यार्थीहरू पनि उत्तिकै प्रभावित बनेका छन । बकुलियाबाट दिनुहँ क्याम्पस जाने विद्यार्थी रमेश धानुकले सडकको खराब अवस्थाले आफूहरु सबैभन्दा बढी प्रभावित बनेको बताउनुभयो । ‘धुलो र हिलोले कपडा दिनहुँ फोहोर हुन्छ, धानुकले भन्नुभयो, खाल्टाखुल्टीका कारण दुर्घटनाको जोखिम पनि उस्तै छ ।’ सडकमा बनेका ठूला ठूला खाल्टाखुल्टीले किनराबाट हिँड्दा पनि आफूहरुले असुरक्षा महशुस गर्ने गरेको उहाँको भनाई छ ।
स्थानीयको स्वास्थ्य, व्यापार, शिक्षा र दैनिक आवतजावतमा प्रत्यक्ष असर परिरहेको उक्त सडकखण्डको निर्माण कार्य तत्काल पूरा गर्न स्थानीयले माग गरेका छन ।जीतपुरसिमरा वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्ताका अनुसार नगरपालिकाले समयमै कामको भुक्तानी नदिएपछि ठेकेदार कम्पनीले काम रोकेको हो । ढिलासुस्ति गरेर निर्धारित समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई नगरपालिकाले कानुनअनुसार कारबाही गर्नुपर्ने उहाँको भनाई छ ।ठेकेदार कम्पनीका प्रोपराइटर श्रीकान्त यादवले पनि नगरपालिकाबाट समयमै भुक्तानी पाउन नसकेकाले काम अधुरो छोड्नु परेको बताउनुभयो । ‘गत असार महीनामा पाउनुपर्ने भक्तिनी कार्तिक महीनामा मात्रै आयो, उहाँले भन्नुभयो, त्यसपछि जेनजी आन्दोलन र चाडबाडको चपेटामा काम शुरु गर्न भ्याइएको छैन ।’ उहाँले थोरैमात्र काम बाँकी रहेको र केही दिनभित्र नै सडक निर्माण कार्य शुरु गर्ने पनि जानकारी दिनुभयो । ‘७० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको छ, यादवले भन्नुभयो, यो वर्षभित्र काम सम्पन्न हुनेछ ।’
















